कार्यकारी निर्देशकको संदेश

हाम्रो देशमा रेडियो प्रसारण संस्थाको जननीको रुपमा वि. सं. २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपाल आफ्नो सात दशकको यात्रा पुरा गरी आजसम्म आम स्रोतालाई सही सूचना, समाचार र मनोरञ्जन दिन दत्तचित्त भएर लागि पर्दै आएको छ ।

रेडियो प्रसारणको क्षेत्रमा ओजपूर्ण इतिहास बोकेको रेडियो नेपाल आफ्नो साख र गौरवलाई कायम राख्दै समयक्रमसँगैका आरोह अवरोह सहित सञ्चार क्षेत्रमा देखा परेका नयाँ प्रविधि अपनाउन पनि पछि परेको छैन । फलस्वरुप आज रेडियो नेपालको सेवा एएम, एफएम प्रविधि सहित डिजिटल प्लेटफर्ममा न्यूजपोर्टल र अनलाईन रेडियोको रुपमा पनि उपलब्ध छ । नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा संचार र सूचनाको हकलाई व्यवहारमा ल्याउन अनि बहुभाषा प्रसारणको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहका विषयबस्तुहरुलाई उजागर गर्दै आम नेपाली बीच सामाजिक सद्भाव कायम राख्न क्रियाशील छ ।

सत्य, तथ्य विश्वासनीय र भरपर्दो सूचना, समाचार प्रसारण गर्न प्रतिवद्ध राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार, रेडियो नेपाल विविध प्रकृतिका रेडियो कार्यक्रमहरु मार्फत आम जनतालाई जागरुक बनाउन लागी परेको छ । स्रोताको रुचि, इच्छा र आवश्यकतालाई मुख्य आधार मानी आफ्ना प्रसारण सामग्रीमा परिमार्जन गर्दै समाजमा जनचेतना अभिबृद्धि गर्न र समाजको सकारात्मक रुपान्तरण गर्नमा समेत रेडियो नेपालको भूमिका रहदै आएको छ ।

आधुनिक नेपालको समावेशी आवाज रेडियो नेपालले समय सापेक्ष विषयबस्तु र प्रविधिको रुपान्तरण सँगै प्राकृतिक प्रकोप र महामारीको समयमा पनि आफ्नो आपतकालिन प्रसारण मार्फत आमश्रोताको हितमा दिनरात नभनी सेवा गर्दै आएको छ । सार्वजनिक प्रसारण संस्था अनुरुपका प्रसारण सामग्रीको उत्पादन तथा प्रसारण, राज्यको नीति अनुसार मुलुकका सबै भूभागसम्म रेडियो नेपालको पहुच र श्रोताको चाहनालाई यथासीघ्र सम्बोधन गर्ने लगायतका लक्ष्यहरु सहित रेडियो नेपाल अघि बढिरहेको छ ।

अन्त्यमा, तपाई श्रोता र सरोकारवालाबाट आजसम्म प्राप्त माया, ममता र स्नेहको कदर गर्दै सबैसंग सहकार्य, समन्वय र समझदारी कायम गरी सम्बृद्धिका लागि सञ्चार भन्ने भावना अनुरुप रेडियो प्रसारणको समग्र विकास र विस्तारमा लागिरहने छौ ।

बुद्धि बहादुर केसी

कार्यकारी निर्देशक


समाचार पोर्टल
,