वि.सं. २००७ साल चैत्र २० गते विधिवत रुपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य सञ्चार माध्यम हो । तात्कालीन प्रसार विभाग अन्तरगत रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ वमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा परिणत भएको हो ।
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको सिंहदरवारमा रहेको छ भने सुनसरी काे धरान, ललितपुर काे भैसेपाटी र खुमलटार गरी तीनवटा प्रसारण केन्द्रसहित सात वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकको विभिन्न ३३ स्थानमा एफ.एम. रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले देशभरि प्रसारण सेवा विस्तार गरेको छ । यसका साथै www.onlineradionepal.gov.np, www.radionepal.gov.np र रेडियो नेपाल mobile app मार्फत विश्वभरि पढ्न, सुन्न र हेर्न सकिन्छ । रेडियो नेपाल, नेपालमा सबैभन्दा बढी प्रसारण केन्द्रहरु र एफ.एम. रिले केन्द्रहरु रहेको सर्वाधिक प्रसारण पहुँच भएको प्रसारण माध्यम हो । २४ सै घण्टा प्रसारण हुने रेडियो नेपालले दनुवार सहित २५ भाषामा समाचार तथा २४ भाषामा कार्यक्रम प्रसार गर्दै आएको छ । आ.व.०८०।८१ को आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुँच ९३ प्रतिशत जनतासम्म पुगेको छ ।
दूरदृष्टि
राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी, राष्ट्रिय प्रसारण माध्यमको रुपमा क्रियाशील रेडियो नेपाललाई सर्वाधिक श्रोता र प्रसारण पहुँच भएको राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारको रुपमा विकास गर्ने ।
परिदृष्टि
राष्ट्रिय हितलाई सर्वोपरि राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिको व्यापक जानकारी दिन र राष्ट्र तथा जनताको आर्थिक, बौद्धिक तथा सामाजिक उत्थानमा सघाउ पुर्याउनका लागि मिडियमवेभ तथा एफ.एम. र अनलाइनको माध्यमबाट प्रसारण सेवा सञ्चालन गर्ने ।
लक्ष्य
नेपाली जनताको अभिव्यक्तिको स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, धार्मिक एवं कलात्मक पक्षहरूको जगेर्ना, सम्बर्द्धन गर्न तथा विभिन्न क्षेत्र, जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदायबीच भावनात्मक एकता अभिवृद्धि गर्न शैक्षिक, सूचनामूलक, विकासमूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका महत्वपूर्ण गतिविधिहरूको उत्पादन/प्रसारण गरी जनताको जीवनस्तर उकास्न एवं चेतना अभिवृद्धि गर्न सघाउ पुर्याउने ।