पोखरा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नेपालीको घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्याउने बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले सार्वजनिक सञ्चार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने उल्लेख गर्नुभयो ।
सम्पूर्ण नेपाली जनताले सुन्ने गरी सेवा प्रवाह गर्दै नेपालको सबै घर धुरीमा रेडियोको पहुँच पुर्याउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा दिइएको सुझावलाई मनन गर्दै अघि बढाउने प्रतिबद्धता पनि मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।
सरकारी सञ्चार माध्यमहरू आफ्नो खुट्टामा उभिनुपर्ने बताउनुहुँदै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विज्ञापन दिन राज्यका सबै निकायलाई सुझाव दिनुभयो ।
लालपूर्जा र हुलाक टिकट नेपालमा छाप्न सुरु गरिएको जानकारी दिनुहुँदै मन्त्री गुरुङले पहिला काठमाडौँ, पोखरा सहितका ६ महानगरबाट फाइभ जि सुरु गरिने बताउनुभयो ।
आगामी ३ वर्षभित्र आइटी क्षेत्रबाट ३ लाख युवालाई रोजगार सृजना गराइने उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले नेपाललाई आइटी हब बनाइने जनाउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक प्रसारण संस्थाको मर्म अनुसार सङ्घीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गर्दै ‘सबैको, मेरो’ भन्ने बनाउन सुझाव दिनुभयो ।
कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद बस्तीले रेडियो नेपालले ३३ वटा स्टेसनबाट भौगोलिक रूपमा हिमालदेखि पहाड हुँदै तराईसम्म सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले देशभर रेडियो नेपालको केन्द्रीय कार्यालयबाट ६ सहित २५ भाषाबाट समाचार प्रसारण हुँदै आएको जानकारी दिनुभयो ।
नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया मगरले समय अनुसार रेडियो परिष्कृत हुन नसकेको गुनासो गर्नुभयो ।
तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले रेडियो नेपाललाई प्रविधिको अधिकतम प्रयोग गर्न सुझाव दिँदै राष्ट्र भाषाको प्रवर्द्धन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रेडियो नेपाल, योजना, विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्करराज गौतमले गण्डकी प्रदेशबाट सुरु भएको अन्तरक्रियालाई सातै प्रदेशमा आयोजना गरिने बताउनुभयो ।
रेडियो नेपालको गण्डकी प्रादेशिक प्रसारण कार्यालयका प्रमुख शान्ति गुरुङले मातृभाषामा समाचार र कार्यक्रम प्रसारण गर्दा देखिएका चुनौती समाधानका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।
रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले अन्तरक्रिया सहित रेडियो नेपालको पोखरास्थित प्रादेशिक कार्यालयका कर्मचारीसँग विज्ञापन प्रवर्द्धन र स्थानीय सवालबारे छलफल हुने बताउनुभयो ।
त्यस अवसरमा कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपालको समावेशी अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।