रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक लामाद्वारा पदभार ग्रहण

प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको कार्यकारी निर्देशकको भनाई

काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्नसक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो ।

प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोतसाधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले रेडियो प्रसारणलाई वर्तमान प्रविधि सुहाउँदो बनाई सबैको मन जित्ने गरी सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्था र नागरिकप्रतिको दायित्वलाई आत्मसाथ गर्दै नयाँ नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक द्वय चन्द्रभुषण लाल दास र कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुन गइरहेको रेडियो नेपालले अहिले पनि त्यस अनुरूपको दायित्व निर्वाह गरिरहेको बताउनुभयो ।

समाचार पोर्टल
,