भूकम्प र कोभिडका समयमा रेडियो नेपालको भूमिका सबैले स्मरण गर्नैपर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सरकार र जनतालाई जोड्ने काम रेडियो नेपालले गर्दै आएकाले यसको भूमिका सदैव महत्वपूर्ण रहेको बताउनुभएको छ ।

रेडियो नेपालका नवनियुक्त कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण तालिमको समापनका अवसरमा आज सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सञ्चार सचिव अर्यालले राष्ट्रिय स्वतन्त्रता,अखण्डता र समावेशितालाई बलियो बनाउने गरी रेडियो नेपालले काम गर्दै आएको बताउनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिको अध्यक्ष समेत रहनुभएका सञ्चार सचिव अर्यालले भूकम्प र कोभिडका समयमा रेडियो नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सबैले स्मरण गर्नैपर्ने र रेडियो नेपाल किन आवश्यक छ भन्ने कुरा त्यसले प्रमाणित गरेको बताउनुभयो ।

व्यापार र व्यावसायिकता बढाउने कुरामा थप पहल जरुरी रहेको उल्लेख गर्दै सञ्चार सचिव अर्यालले रेडियो नेपाललाई अझ राम्रो बनाउन आफु साथमा रहेको पनि बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले नयाँ सामूहिक अभ्यासको माध्यमबाट रेडियो नेपाललाई अगाडि बढाउनुपर्ने र त्यसका लागि नवप्रवेशी कर्मचारीहरूको जोस–जाँगरबाट राम्रो परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवाका रुपमा उन्मुख रेडियो नेपालले अहिले पनि सार्वजनिक प्रसारण सेवाकै रुपमा काम गरिरहेको बताउनुभयो । 

यस्तै कार्यक्रममा रेडियो नेपालका आर्थिक प्रशासन महाशाखाका प्रमुख एवं निर्देशक मनोज चौधरीले आफ्नो दक्षतालाई प्रसारण र काममा देखाउन नवप्रवेशी कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

त्यस अवसरमा नवप्रवेशी कर्मचारीहरूका तर्फबाट लिम्बु भाषाका सह समाचार वाचक विष्णुमाया सिघक र वरिष्ठ प्राविधिक सहायक बेदप्रकाश न्यौपानेले रेडियो नेपाल जस्तो गौरवशाली संस्थामा काम गर्ने अवसर पाएकोमा गर्वको महशुस भएको र अब जनता प्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रमको सञ्चालन रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत नवीन दाहालले गर्नुभएको थियो । लोकसेवा आयोगबाट हालै सिफारिस भई रेडियो नेपालका विभिन्न पदहरूमा स्थायी नियुक्ति हुनुभएका कर्मचारीका लागि पाँच दिन सम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो । 

समाचार पोर्टल
,