रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा बिस्तार हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपाल सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा सञ्चार मन्त्री गुरुङले विज्ञान प्रविधिको विकसित माध्यमहरूसँग प्रतिस्पर्धा गरी रेडियो नेपालले आफ्नो प्रसारणलाई समृद्धि बनाई राष्ट्रको बलियो प्रसारण संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले रेडियोको विकास र सुधारका लागि समयानुकूल कानुनी, नीतिगत सहयोग गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले रेडियो आर्थिक रुपमा सबल हँुदै जनतालाई सुसूचित गराउने भूमिकामा रही सरकारको सहयोगीका रुपमा रहन सम्बन्धित निकाय, संघ सङ्गठन तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले रेडियो नेपालको संरचनात्मक, प्रविधिगत र व्यवस्थापकीय सुधार गरी वित्तीय र व्यावसायिक क्षमता प्रवर्द्धन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुहुँदै रेडियो प्रसारण पहुँच ९४ प्रतिशत जनसङ्ख्यामा रहेको बताउनुभयो ।

निमित्त कार्यकारी निर्देशक खत्रीले रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको ढाँचामा आफ्नो प्रसारण सामग्रीलाई रूपान्तरण गर्दै ७० प्रतिशत राष्ट्रिय दायित्व तथा जिम्मेवारीका र ३० प्रतिशत प्रायोजित कार्यक्रमहरू प्रसारण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभषण लालदासले स्वागत मन्तव्य राख्नुभएको थियो कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम अधिकृत नवीन दाहालले गर्नुभएको थियो ।

कार्यक्रमपछि सञ्चार मन्त्री गुरुङले रेडियो नेपालको स्टुडियो भवनहरूको समेत अवलोकन गर्नुभई रेडियो प्रसारणका सम्बन्धमा जानकारी लिनुभएको थियो ।

समाचार पोर्टल
,