रेडियो नेपालद्वारा वीरगन्जमा बहस:

विकृतिको अन्त्यका लागि आफै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूको जोड

वीरगन्ज । बीरगंज तथा तराई मधेशमा देखिएका सामाजिक विकृतिको अन्त्यका लागि हरेक व्यक्ति आफैमा जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

रेडियो नेपालद्वारा वीरगन्जमा आयोजित ‘समाजका विकृति विसङ्गति अन्त्य गर्दै समुन्नत समाज निर्माणमा हाम्रो जिम्मेवारी’ विषयक बहस कार्यक्रममा सरोकारवाला निकायहरूले उक्त कुरामा जोड दिएका हुन् । वक्ताहरूले सभ्य र समुन्नत समाज निर्माणका लागि हरेक व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापक एवं समाजसेवी डा.सुस्मा तिवारीले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा सुधारका लागि नागरिक खबरदारीको पनि उत्तिकै भूमिका रहेको बताउनु भयो ।

हरेक क्षेत्रमा मधेश पछाडि पर्नुको कारण स्वमय नागरिकहरूकै दोषी रहेको उहाँको भनाइ थियो ।

मानव विकास सुचाङ्कमा मधेसलाई अगाडि ल्याउन सबैभन्दा बढी शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको कुरामा जोड दिनुभयो । त्यस्तै, नेकपा एमाले पर्साका सचिव महेश दासले नीति नियम र कानून पहिलेभन्दा राम्रो भए पनि कार्यान्वयनको पाटो कमजोरी रहेको बताउनुभयो । सामाजिक विकृति अन्त्यका लागि हरेक राजनीतिक दलहरू एकजुट हुनुपर्ने भन्दै उहाँले त्यसमा अन्य संघ संस्थाहरूको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

बहस कार्यक्रममा वीरगन्ज महानगरपालिकाको सुशासन एवं भौतिक पूर्वाधार समितिको संयोजक प्रदीप चौरसियाले विगतका कमजोरीलाई सच्याएर वीरगन्जलाई वैभव वीरगन्ज बनाउन महानगरपालिकाले सबैसँग हातेमालो गर्दै अघि बढिरहेको बताउनुभयो । 

उहाँले पहिलेको तुलनामा वीरगन्ज अहिले धेरै परिवर्तन भएको कुरा सबैले स्वीकार गरेको दाबी गर्नु भयो । 

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाले राज्यले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उद्योगधन्दा राम्रोसँग सञ्चालन हुन नसक्दा कर्मचारी कटौतीको समस्या देखा पर्ने र त्यसले बेरोजगारी सिर्जना गरी समाजमा अन्य अपराधको समेत चुनौती थपिने विषयमा राज्यले समयमै सोच्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि प्रहरीले समुदायस्तरमा विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो । पर्सा जिल्लामा वार्षिक करिब पाँच हजार उजुरी पर्ने गरेको र दुई हजार भन्दा बढी मुद्दा दर्ता हुने गरेको उल्लेख गर्दै उहाँले समाजमा आपराधिक गतिविधि हुन नदिन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

सामाजिक अभियानता प्रकाश थारुले सामाजिक विकृति अन्त्यका लागि स्वपरिवर्तन आवश्यक रहेको बताउँदै आफू परिवर्तन भए मात्रै समाजलाई परिवर्तन गर्न सकिने कुरामा जोड दिनुभयो । बहस कार्यक्रममा हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरीराय यादवले समाजका अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि विसङ्गति देखा पर्न गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

केही समय अघि वीरगन्जकै एक क्याम्पसमा कक्षा १२ का विद्यार्थीले चिट चोर्न नदिएको विषयमा भएको विवादको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले यस्ता घटनाहरू हुनु दुःखद भएको बताउनुभयो । साथै उनले सामाजिक विकृतिको अन्त्यका लागि अन्य सामाजिक संघसंस्थाहरुसँग हरि खेतान क्याम्पसले पनि हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

त्यस्तै, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईले युवा विदेशिनु देशको मूल समस्या भएकोले युवालाई स्वदेशमै केही गर्ने वातावरण बनाउन सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले नागरिकहरूमा ट्राफिक नियम पालना सम्बन्धी ज्ञान भएर पनि पालना नगरेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

सडक सुरक्षाको विषय सबैको सरोकारको विषय भएकोले ट्राफिक समस्याका बारेमा प्रहरीले दोषी देख्नु गलत भएको बताउनुभयो । 

पछिल्लो समय पर्सामा ट्राफिक नियम उल्लङ्घन गर्ने करिब २१ हजार सवारी साधान कारबाहीमा परेको र साढे दुई करोड रुपैयाँ राजस्व सङ्कलन भएको खतिवडाले जानकारी दिनुभयो । 

कार्यक्रममा वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक डा.महेशसिंह धामीले समाजका विकृति र विसङ्गतिलाई हटाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । बहस कार्यक्रममा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले समाजमा देखा परेका हरेक समस्या समाधानका लागि सरोकारवाला व्यक्ति बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

अरूलाई दोष देखाएर समाज सुधार हुन नसक्ने भन्दै उहाँले व्यक्ति आफैबाट सुधारको पहल थाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले समाजका हरेक क्षेत्रमा अहिले विकृति देखा परेको बताउँदै स्वास्थ्य, शिक्षा, राजनीति, पत्रकारितालगायतका क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि व्यक्ति आफै इमान्दार हुनुपर्ने कुरामा जोड दिनुभयो ।

रेडियो नेपाल बीरगंज स्थित सम्वाददाता ध्रुव अधिकारीले सहजिकरण गर्नु भएको बहस कार्यक्रमको व्यवस्थापन, सहयोग ग्रिन सिटी सामुदायिक  केन्द्र आदर्शनगर वीरगन्जले गर्नु भएको थियो । 

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको लोक सेवा आयोगबाट लिइएको विभिन्न सेवा, समूह, तह तथा पदको लिखित परीक्षाको नतिजा ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५/०८१/८२(खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३४/०८१/८२(खुला तथा समावेशी), संचार तथा कार्यक्रम/समाचार/रिपोर्टिङ सेवा/समूह/उपसमूह, तह ६, सम्वाददाता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३३/०८१/८२(आ.ज.), संचार तथा कार्यक्रम/समाचार/सम्पादन सेवा/समूह/उपसमूह, तह ६, समाचार सम्पादक (नेपाली) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३१/०८१/८२(महिला), प्रशासन/व्यापार सेवा/समूह, तह ६, व्यापार अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना