रेडियो नेपाल राष्ट्रको हरेक परिवर्तनको साक्षी: मन्त्री शर्मा

काठमाडौँ। रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आज सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रबिधिमन्त्री रेखा शर्माले रेडियो नेपाल राष्ट्रको हरेक परिवर्तनको साक्षी रहेको बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको विकास बढ्दै गए पनि रेडियो अहिले पनि सूचनाको महत्वपूर्ण साधन भएको बताउनुभयो ।
उहाँले, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारक बनाउन सरकारले संसदमा विधेयक पेश गरिसकेको जानकारी दिनुभयो ।

समारोहमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले सत्य, तथ्य र सन्तुलित समाचार तथा लोक संस्कृति, विकास निर्माण, जनचेतना र समसामयिक विषयमा आधारित कार्यक्रम र समाचार प्रसारण गर्नु रेडियो नेपालको पहिचान भएको बताउनुभयो ।

समारोहमा, रेडियो नेपाल सञ्चालक समितिका पूर्व अध्यक्षहरू महेन्द्र बहादुर गुरुङ, दिपक सुबेदी, हरिप्रसाद बस्याल, डाक्टर बैकुण्ठ अर्याल, र कृष्णबहादुर राउतका साथै पूर्व कार्यकारी निर्देशकहरू जैनेन्द्र जीवन, गीता प्रसाद खनाल, तपनाथ शुक्ल र रामशरण कार्कीलाई सम्मान गरिएको छ ।

समारोहमा स्रष्टाहरू शान्ता श्रेष्ठ र काशीराम बुढा मगरलाई जनही ५१ हजार एक रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरिएको छ ।यसैगरी, समारोहमा रचनातर्फ उत्कृष्ट दाबा गुरुङ, सङ्गीततर्फ उत्कृष्ट ज्योति प्रकाश, गायनतर्फ पहिलो हुने मिलन परियार, दोस्रो हुने समिर परियार र तेस्रो हुने लेखराज ढकाललाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरियो ।

समारोहमा मन्त्री शर्माले रेडियो नेपालको मुखपत्र झङ्कारको विमोचन गर्नुभयो ।त्यस्तै, रेडियो नेपालमा २५ वर्ष सेवा गर्नुभएका १९ जना कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरिएको छ ।

समारोहमा उत्कृष्ट कर्मचारीहरू रामकाजी आचार्य, मनराज नकर्मी, शेरबहादुर गुरुङ र रघु चौधरी एवं उत्कृष्ट स्थानीय संवाददाता राजेन्द्र मिजार बाजुरालाई पुरस्कृत गरिएको छ ।

त्यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा पहिलो स्थान प्राप्त गर्ने कर्मचारीहरू सरिता खनाल, बेन्जु सुबेदी, भगवती ज्ञवाली, विद्याप्रसाद उपाध्याय र दिपक जोशीलाई पुरस्कार प्रदान गरिएको छ ।

समाचार पोर्टल
,