अछाममा छाउपडी कु–प्रथाका सवालमा स्थलगत रेडियो बहस

अछाम ।  साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरपालिकामा छाउपडी कु–प्रथाको ८० प्रतिशत अन्त्य भइसकेको र समाजमा हुने सबै खाले विभेद ,लैङ्गिक हिंसा न्यूनीकरणमा लागि आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)को आयोजना तथा साँफेबगर नगरपालिकाको समन्वयमा स्थलगत रेडियो बहस कार्यक्रममा नगर प्रमुख कुँवरले  यस्ता विभेदहरू हटाउन समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने उल्लेख गर्नुहुँदै समाज रूपान्तरणमा आफ्नो मुख्य जिम्मेवारी रहेको पनि बताउनुभयो ।

महिला अधिकारकर्मी पशुपति कुँवरले पछिल्लो समय अछामको छाउपडी प्रथाका बारेमा सामाजिक सञ्जाल र मिडियामा आइराखेको प्रचारबारे टिप्पणी गर्दै अहिले जिल्ला छाउपडी प्रथाको न्यूनीकरण भइरहेको बताउनुभयो ।

उहाँले आफूले अनुगमन गरेअनुसार पछिल्लो समय समुदायमा निर्माण गरिएका छाउगोठहरू भत्काइसकेको र छाउ भएको बेला घरमै बस्ने बानीको विकास तीव्र रुपमा भइरहेको बताउनुभयो । अछाममा छाउपडीबारे बाहिरी जिल्लामा प्रचार गरिए जस्तो अवस्था अहिले नरहेको उल्लेख गर्नुहुँदै उहाँले अभियानमा निरन्तर आफू लागिरहने बताउनुभयो ।

जनकल्याण मावि साफेबगरका शिक्षिका जानकी कुँवरले आफ्नो विद्यालयमा छाउपडी वा कुनै किसिमको विभेद नरहेको भन्नुहुँदै छाउ भएका छात्राहरूलाई विद्यालयबाट सजिलोसँग प्याड उपलब्ध भइरहेको बताउनुभयो ।

अछामका धेरैजसो ठाउँहरूमा छाउपडी प्रथाको अन्त्य भइसकेको र यसको पूर्ण रुपमा अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभयो ।

अछामको साँफेबगरमा सम्पन्न स्थलगत रेडियो बहस कार्यक्रममा महिला सशक्तीकरणमा बाधक छाउपडी कु–प्रथाको समस्या र सुधारका लागि सरोकारवाला निकायको भूमिका लगायतका विषयमा छलफल भएको थियो । बहसमा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धव सिंह चुवागडीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, दलित अधिकारकर्मी ,महिला अधिकारकर्मी ,पत्रकारलगायतको सहभागिता रहेको थियो ।

समाचार पोर्टल
,