रेडियो नेपालले पुराना गीत सङ्गीतलाई डिजिटल प्लेटफर्ममार्फत बजारीकरण गर्न आवश्यक : सचिव अर्याल 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले रेडियो नेपालले रेडियो नेपालमा रहेका पुराना गीत सङ्गीत तथा श्रव्य सामग्रीहरूलाई डिजिटल प्लेटफर्ममार्फत बजारीकरण गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले राष्ट्रिय प्रसारण प्रणालीमा अनुभवयुक्त प्रसारकको उपस्थिति र डिजिटल प्रसारण प्रविधिको प्रयोगले आम श्रोतागणको रुचि, इच्छा अनुरूपको स्वाद पहुँच सबै भूगोलमा पुर्‍याउनु जरुरी रहेको भन्नुहुँदै रेडियो नेपालका पुराना गीत सङ्गीतलाई विश्व बजारमा उपस्थितिका लागि डिजिटल प्लेटफर्म उपयुक्त हुने बताउनुभएको हो । 

रेडियो नेपालको ७२औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै सचिव अर्यालले नेपालमा पहिलो विद्युतीय सञ्चारमाध्यमको रूपमा स्थापना भएको रेडियो नेपालले प्राकृतिक प्रकोप, आपत् विपद्, संकट व्यवस्थापनको समयमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुहुँदै २०७२ सालको भूकम्प र कोरोना महामारीका बेला रेडियो नेपालले प्रसारण गरेका जनचेतनामूलक सामग्री थप प्रभावकारी रहेको बताउनुभयो । 

अप्ठ्यारो समयमा रेडियो नेपालले खेलेको भूमिकाको कारण राष्ट्रिय प्रसारण संस्थाको औचित्य र आवश्यकता प्रष्ट पारेको बताउनुहुँदै सचिव अर्यालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समावेशी चरित्र स्थापित गर्दै अनेकौँ चुनौतीका बाबजुद पनि संस्थागत सबलीकरणमा रेडियो नेपाल सफल भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

समाचार पोर्टल
,