रेडियो नेपालका कार्यकारी निर्देशक केसीको बिदाई

काठमाडौँ । रेडियो नेपालले आज रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई बिदाई गरेको छ ।

रेडियो नेपालको केन्द्रिय प्रसारण कार्यालय सिंहदरबारमा आज आयोजित बिदाई समारोहमा कार्यकारी निर्देशक केसीले आफ्नो कार्यकालमा प्रसारण सामग्रीको सुधार र प्रसारण पहुँचको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएको स्मरण गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले चार वर्षे कार्यकालमा रेडियो नेपालको प्रसारण पहुँच ८५ प्रतिशतबाट बढेर ९४ प्रतिशत जनसङ्ख्यामा पुगेको र अनलाइन, सामाजिक सञ्जाल तथा एप्समार्फत समेत रेडियो सुन्न सकिने व्यवस्था भएको बताउनुभयो ।

रेडियो नेपालको प्रसारणलाई समावेशी बनाउन विभिन्न भाषाका समाचार तथा कार्यक्रमहरू थप गरिएको तथा रेडियो नेपालको प्रसारणलाई जनस्तरसम्म पुर्‍याउन स्थलगत मुद्दाहरूमा आधारित रेडियो कार्यक्रम उत्पादन गर्ने व्यवस्था गरेको स्मरण गर्नुहुँदै कार्यकारी निर्देशक केसीले रेडियो नेपालले लिएका नीति, योजना र कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्‍याएकोमा सञ्चालक समिति एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रालयप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

बिदाइ समारोहमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले कार्यकारी निर्देशक केसीलाई आफूले काममा दत्तचित्त भई लाग्ने र सबै कर्मचारीहरूसँग व्यक्तिगत सम्बन्ध राख्न सक्ने व्यक्तिका रुपमा लिएको उल्लेख गर्नुहुँदै उहाँको कार्यकालमा रेडियो नेपालका ऐतिहासिक कागजपत्र र अभिलेखहरूको संरक्षणका लागि व्यवस्थित अभिलेखीकरण भएको स्मरण गर्नुभयो ।

यस्तै रेडियो नेपालका अर्का नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले कार्यकारी निर्देशक केसीको सबैलाई साथमा लिएर हिँड्न सक्ने समन्वयकारी क्षमताका कारण उहाँको कार्यकालमा रेडियो नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई आफूले पूर्वाग्रह रहित एवं कार्यस्थलमा निरन्तर खट्न सक्ने व्यक्तिको रुपमा लिएको बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका महाशाखा प्रमुखहरू पुष्करराज गौतम, पवनकुमार प्याकुरेल, ताराप्रसाद वस्ती, मनोजकुमार चौधरी लगायतका वक्ताहरूले कार्यकारी निर्देशक केसी अध्ययनशील, लगनशील र समन्वयकारी व्यक्तित्व रहनुभएको चर्चा गर्नुहुँदै उहाँको चार वर्षे कार्यकालमा रेडियो नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको स्मरण गर्नुभयो ।

रेडियो नेपालमा आफ्नो ३१ वर्षे सेवा अवधि व्यतीत गर्नुभएका कार्यकारी निर्देशक केसी २०४९ मा रेडियो नेपालको सेवामा प्रवेश गर्नुभएको थियो भने २०७७ साउन १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रेडियो नेपालको नायव कार्यकारी निर्देशक पदमा कार्यरत रहेकै अवस्थामा कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

समाचार पोर्टल
,