काठमाडौँ I रेडियो नेपालले आफ्ना कर्मचारीहरूका लागि आयोजना गरेको लेखा, लेखा परीक्षण, खरिद र जिन्सी व्यवस्थापन सम्बन्धी तीन दिने दक्षता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।
सिंहदरबारस्थित रेडियो नेपालमा आयोजित प्रमाणपत्र वितरण समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले तालिमबाट सिकेका सीप र ज्ञानको कार्यालयको दैनिक क्रियाकलापमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
उहाँले तालिम प्राप्त कर्मचारीलाई आफ्ना मातहतका सहकर्मीहरूसँग पनि सीप र ज्ञान बाँडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रेडियो प्रसार सेवा विकास समितिका सदस्य तिलकजंग बुढाथोकीले तालिमबाट सिकेका कुराले संस्था सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले जनताबाट प्राप्त करबाट सञ्चालित संस्था भएकाले रेडियो नेपालले जनतालाई सेवा प्रवाह गर्न कुनै कमी गर्न नहुने बताउनुभयो ।
अर्का नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले आफूलाई अब्बल बनाउँदै संस्थाको हितमा सीपको प्रयोग गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा रेडियो नेपाल आर्थिक महाशाखा प्रमुख मनोज चौधरीले काम गर्ने क्रममा त्रुटि नहोस् भनेर नै विभिन्न तालिम आयोजना गर्ने गरिएको जानकारी दिनुभयो ।
प्रशिक्षार्थीहरूको तर्फबाट उदयकृष्ण श्रेष्ठ र शम्भु ढुङ्गानाले तालिमबाट थप ज्ञान प्राप्त भएकोले आगामी दिनमा आफूहरूले कामलाई परिमार्जित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिम शाखा प्रमुख जनार्दन विष्टले रेडियो नेपालको बजेट अनुसार विभिन्न शीर्षकमा तालिम दिइरहेको र यसबाट सहभागीहरू लाभान्वित हुने गरेको बताउनुभयो ।
तालिममा सहभागीहरू उदय कृष्ण श्रेष्ठ, शम्भु प्रसाद ढुङ्गाना र मनीषा आचार्यले तालिम फलदायी भएको धारणा राख्नुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले तालिममा सहभागी ५४ जनालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।