मधेश प्रदेशका सञ्चार मन्त्रीद्वारा रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको निरीक्षण

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखिले रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले प्रादेशिक प्रसारण केन्द्रको गतिविधिका विषयमा जानकारी दिनुभएको थियो ।

निरीक्षणपछि आयोजित कार्यक्रममा रेडियो नेपालको विकासमा सहयोग गर्न तयार मन्त्री लेखिले बताउनुभयो । उहाँले स्टुडियो सहितको रेडियो नेपाल मधेश भवन स्थापनाका लागि सहयोग गर्ने बताउनुभयो ।

स्वतन्त्र प्रेस तथा लोकतन्त्र एक अर्काको परिपूरक भएको बताउँदै उहाँले स्वतन्त्र प्रेस विना लोकतन्त्रलाई बलियो बनाउन नसकिने बताउनुभयो । सञ्चारमन्त्री लेखिले नेपालको लोकतान्त्रिक तथा मधेश आन्दोलनमा सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालयमा कार्यरत रहेका कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो । प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट अहिले चार भाषामा समाचारका साथै नेपाली भाषाका कार्यक्रम सञ्चालन हुने गर्दछन् ।

प्रादेशिक प्रसारण केन्द्रबाट मैथिली, भोजपुरी, मगही तथा बज्जिका भाषामा समाचार र कार्यक्रम प्रसारण हुन्छन् । प्रादेशिक प्रसारण कार्यक्रम दिउँसो २ देखि ६ बजेसम्म तथा बाँकी समय केन्द्रीय प्रसारणको रिले प्रसारण हुने गरेको छ ।

समाचार पोर्टल
,