रेडियो नेपालका अवकाश प्राप्त कर्मचारीको बिदाई

काठमाडौँ । रेडियो नेपालले सेवा निवृत्त कर्मचारीहरूलाई आज बिदाई गरेको छ । 

सिंहदरबारस्थित रेडियो नेपालमा आयोजित बिदाइ तथा कदर पत्र प्रदान कार्यक्रममा कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले निवृत्त हुने कर्मचारीहरूलाई कदरपत्र वितरण गर्दै अवकाशपछिको जीवनमा रेडियो नेपालको सद्भावना दूत भएर सहयोग गर्न आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशक केसीले कर्मचारीहरूको हितका लागि कर्मचारी सेवा शर्त नियमावली २०७७, व्यापार निर्देशिका २०७७ र कर्मचारी कल्याणकोष कार्यविधि संशोधनको प्रक्रियामा रहेको साथै पेन्सनकोष स्थापना तथा सञ्चालन निर्देशिका २०८० स्वीकृत हुने क्रममा रहेको बताउनुभयो ।। 

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समिति सदस्य तिलकजंग बुढाथोकीले निवृत्त हुने कर्मचारीलाई बिदाइ गरेकै दिन  आर्थिक सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

नायव कार्यकारी निर्देशकहरू  खगेन्द्र खत्री र कृष्णचन्द्र पौडेल तथा आर्थिक महाशाखा प्रमुख मनोज कुमार चौधरीले निवृत्त हुनुभएका कर्मचारीहरूसँगको कार्य अनुभव  सुनाउँदै सेवा अवधिमा उहाँहरूले प्राप्त गरेको ज्ञान र सीप रेडियो नेपाललाई मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । 

सेवा निवृत्त हुनुभएका आर्थिक महाशाखाका उपनिर्देशक बद्रीनाथ भण्डारी र मुख्य प्रशासकीय अधिकृत सुमन कुशवाहले रेडियो नेपालमा कार्य गर्दाको अनुभव सुनाउनुभएको थियो । 

कार्यक्रममा ३२ वर्ष सेवा गर्नुभएका उपनिर्देशक, २७ वर्ष सेवा गर्नुभएको मुख्य प्रशासकीय अधिकृत कुसवाह, ३१ वर्ष सेवा गर्नुभएका लेखा अधिकृत लक्ष्मण पाण्डे र ३३ वर्ष सेवा गर्नु भएका प्राविधिक अधिकृत दिपक सिलवाललाई कदरपत्र वितरण गरी बिदाइ गरिएको थियो । 

समाचार पोर्टल
,