रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा बिस्तार हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रुपमा विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपाल सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा सञ्चार मन्त्री गुरुङले विज्ञान प्रविधिको विकसित माध्यमहरूसँग प्रतिस्पर्धा गरी रेडियो नेपालले आफ्नो प्रसारणलाई समृद्धि बनाई राष्ट्रको बलियो प्रसारण संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले रेडियोको विकास र सुधारका लागि समयानुकूल कानुनी, नीतिगत सहयोग गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले रेडियो आर्थिक रुपमा सबल हँुदै जनतालाई सुसूचित गराउने भूमिकामा रही सरकारको सहयोगीका रुपमा रहन सम्बन्धित निकाय, संघ सङ्गठन तथा कर्मचारी सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले रेडियो नेपालको संरचनात्मक, प्रविधिगत र व्यवस्थापकीय सुधार गरी वित्तीय र व्यावसायिक क्षमता प्रवर्द्धन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुहुँदै रेडियो प्रसारण पहुँच ९४ प्रतिशत जनसङ्ख्यामा रहेको बताउनुभयो ।

निमित्त कार्यकारी निर्देशक खत्रीले रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको ढाँचामा आफ्नो प्रसारण सामग्रीलाई रूपान्तरण गर्दै ७० प्रतिशत राष्ट्रिय दायित्व तथा जिम्मेवारीका र ३० प्रतिशत प्रायोजित कार्यक्रमहरू प्रसारण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभषण लालदासले स्वागत मन्तव्य राख्नुभएको थियो कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम अधिकृत नवीन दाहालले गर्नुभएको थियो ।

कार्यक्रमपछि सञ्चार मन्त्री गुरुङले रेडियो नेपालको स्टुडियो भवनहरूको समेत अवलोकन गर्नुभई रेडियो प्रसारणका सम्बन्धमा जानकारी लिनुभएको थियो ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)