भूकम्प र कोभिडका समयमा रेडियो नेपालको भूमिका सबैले स्मरण गर्नैपर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सरकार र जनतालाई जोड्ने काम रेडियो नेपालले गर्दै आएकाले यसको भूमिका सदैव महत्वपूर्ण रहेको बताउनुभएको छ ।

रेडियो नेपालका नवनियुक्त कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण तालिमको समापनका अवसरमा आज सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सञ्चार सचिव अर्यालले राष्ट्रिय स्वतन्त्रता,अखण्डता र समावेशितालाई बलियो बनाउने गरी रेडियो नेपालले काम गर्दै आएको बताउनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिको अध्यक्ष समेत रहनुभएका सञ्चार सचिव अर्यालले भूकम्प र कोभिडका समयमा रेडियो नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सबैले स्मरण गर्नैपर्ने र रेडियो नेपाल किन आवश्यक छ भन्ने कुरा त्यसले प्रमाणित गरेको बताउनुभयो ।

व्यापार र व्यावसायिकता बढाउने कुरामा थप पहल जरुरी रहेको उल्लेख गर्दै सञ्चार सचिव अर्यालले रेडियो नेपाललाई अझ राम्रो बनाउन आफु साथमा रहेको पनि बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले नयाँ सामूहिक अभ्यासको माध्यमबाट रेडियो नेपाललाई अगाडि बढाउनुपर्ने र त्यसका लागि नवप्रवेशी कर्मचारीहरूको जोस–जाँगरबाट राम्रो परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवाका रुपमा उन्मुख रेडियो नेपालले अहिले पनि सार्वजनिक प्रसारण सेवाकै रुपमा काम गरिरहेको बताउनुभयो । 

यस्तै कार्यक्रममा रेडियो नेपालका आर्थिक प्रशासन महाशाखाका प्रमुख एवं निर्देशक मनोज चौधरीले आफ्नो दक्षतालाई प्रसारण र काममा देखाउन नवप्रवेशी कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

त्यस अवसरमा नवप्रवेशी कर्मचारीहरूका तर्फबाट लिम्बु भाषाका सह समाचार वाचक विष्णुमाया सिघक र वरिष्ठ प्राविधिक सहायक बेदप्रकाश न्यौपानेले रेडियो नेपाल जस्तो गौरवशाली संस्थामा काम गर्ने अवसर पाएकोमा गर्वको महशुस भएको र अब जनता प्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रमको सञ्चालन रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत नवीन दाहालले गर्नुभएको थियो । लोकसेवा आयोगबाट हालै सिफारिस भई रेडियो नेपालका विभिन्न पदहरूमा स्थायी नियुक्ति हुनुभएका कर्मचारीका लागि पाँच दिन सम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो । 

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)