दाङको चौपट्टाबाट रेडियो नेपालको एफएम रिले परीक्षण प्रसारण सुरु

काठमाडौँ । रेडियो नेपालले दाङको चौपट्टमा स्थापित एफएम रिले स्टेशनबाट आजदेखि परीक्षण प्रसारण सुरु गरेको छ ।

एफएम ब्यान्डमा आफ्नो प्रसारण पहुँच विस्तार गर्ने उद्देश्यले रेडियो नेपालले चौपट्टामा ५०० वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरि परीक्षण प्रसारण सुरु गरेको हो । नेपाल टेलिभिजनको टावर र अन्य भौतिक संरचना प्रयोग गरी सो एफएम रिले प्रसारण आरम्भ गरिएको हो ।

एफएम ब्यान्डको १०० मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची लगायतमा जिल्लामा रेडियो नेपाल सुन्न सकिने जडान टोलीका संयोजक समेत रहनुभएका रेडियो नेपालका उपनिर्देशक रामपुकार रामले जानकारी दिनुभयो ।

यससँगै रेडियो नेपालका एफएम रिले स्टेशनको सङ्ख्या ३० पुगेको छ ।

नेपाल सरकारको १५ औँ योजनाको अन्त्यसम्ममा देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने लक्ष्य रहेकाले रेडियो नेपालले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य स्थानहरूमा पनि रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने गरी कार्य गरिरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक केसीले देशका सबै जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुर्‍याउनु रेडियो नेपालको दायित्व रहेकाले नेपाल सरकारको सहयोगमा उक्त दायित्व पुरा गर्दै जाने बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार हाल रेडियो नेपालको प्रसारण पहुँच कूल जनसङ्ख्याको ९१ प्रतिशत रहेको छ ।

एफएम रिले स्टेशन चौपट्टा दाङको परीक्षण प्रसारण लगायत एफएमजडान कार्यका लागि उपनिर्देशक रामपुकार रामको नेतृत्वमा इन्जिनियर भुवन आचार्य, प्राविधिकहरू इन्द्र कुमार बहरखेर, अशोक कुमार नेपाली र टोपराज पुरी तथा काशीराम खड्का लगायत खटिनुभएको छ ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)