पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा स्पोर्टस् अवार्डका लागि मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक

radionepal

रोहित काफ्ले, झापा । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ का लागि मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल), वर्ष उत्कृष्ट महिला खेलाडीमा जुनी राई (उसु), देविका खड्का (जुडो) र कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट युवा खेलाडीमा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो), अनुजा कुलुङ राई (कबड्डी) र वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराँते), वोङदेन लामा (पौडी) रहेका छन् ।

वर्ष पुरुष खेलाडीलाई एक थान मोटरसाइकल, वर्ष महिला खेलाडीलाई एक थान स्कुटर, वर्ष युवा खेलाडीलाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, यो वर्ष दुई जनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करण यही फागुन २८ गते शुक्रवार बिर्तामोडमा हुने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिनुभयो ।