पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘प्रादेशिक एकता बढाउन रेडियो नेपालले भूमिका खेल्नु पर्दछ’

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख डा.राजेश झाले सबै जातजातिको भाषा संस्कृतिको विकासमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसनीय रहेकाले यसको विकासमा सहयोग गर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुख झाले पदभार ग्रहण गरेपछि पहिलो पटक रेडियो नेपालको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको गौरीडाँडामा रहेका प्रादेशिक प्रसारण केन्द्रको आज निरीक्षण गर्नुहुँदै सबै जातजातिको साझा धरोहर रहेकाले यसबाट नै आफूले अनुगमनको सुरुआत गरेको बताउनुभयो ।

उहाँले रेडियो नेपालको प्रसारण पहुँच नेपालमा सबैभन्दा बढी भएकाले यो राष्ट्रिय धरोहर रहेको बताउँदै रेडियो नेपालको अझै विकास हुनुपर्ने धारणा राख्नु भयो ।

प्रदेश प्रमुख झाले रेडियो नेपालको प्रादेशिक प्रसारणले पनि जन समुदायमा परिवर्तनको अनुभूति गराउनका महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक प्रसारण केन्द्रले राष्ट्रिय एकताको जगेर्ना गर्नमा थप प्रयास गर्ने आशा प्रदेश प्रमुख झाको छ । 

रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालय प्रमुख रामपुकार राम सहितका कर्मचारी तथा समाचार शाखाका समाचार सम्पादक हृदयकान्त झा सहितकाले स्वागत तथा केन्द्रका बारेमा जानकारी गराउनुभएको थियो ।