पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्णालीमा दुई अर्बका बहुवर्षीय योजना निर्माण हुँदै 

radionepal

सागर परियार, जुम्ला । कर्णालीमा आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी दुई अर्ब बढीका दर्जनौँ बहुवर्षीय योजना निर्माण भइरहेका छन् ।

सङ्घीयतापछि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले साढे २ अर्ब बढी लगानीमा कर्णालीका जुम्ला, मुगु, डोल्पालगायतका दुर्गम जिल्लामा सडक, भवन, अस्पताललगायतका दर्जनौँ बहुवर्षीय योजनाहरू निर्माण गरिरहेको कार्यालयका सब इन्जिनियर चन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न पाँच वटा शीर्षकमा केन्द्रित रहेर साबिक कर्णालीको भौगोलिक विकटतालाई मध्यनजर गर्दै सङ्घ र प्रदेशको करिब दुई अर्ब २४ करोड लागतमा विभिन्न बहुवर्षीय योजना निर्माण प्रक्रियामा रहेका छन् ।

जसमा, सघन सहरी विकास कार्यक्रममा, एकिकृत पूर्वाधार  विकास कार्यक्रम, भवन निर्माण संहिता सरकारी निर्माण कार्यक्रम, एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम र आवास व्यवस्थापन कार्यक्रम गरी पाँच शीर्षक अन्तर्गतको विभिन्न काम अघि बढेको छ ।

पाँच वटा शीर्षकमा विभिन्न योजना निर्माण सँगै मुगुमा बस्ती स्थानान्तरण र पाँच जिल्लामा ५०/५० शय्या अस्पताल निर्माणका लागि करिब २ अर्ब २४ करोड ७० लाख बजेट विनियोजन भएको सघन सहरी तथा भवन निर्माण आयोजनको कार्यालय जुम्लाले जनाएको छ । यी सबै योजनाहरू बहुवर्षीय योजनाका रुपमा तीन वर्ष भित्र निर्माण सम्पन्न हुने छन् ।

कुन शीर्षकमा कति बजेट ?

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयले विभिन्न पाँच शीर्षक अन्तर्गतका दर्जनौँ बहुवर्षीय योजनाहरूको निर्माण कार्य गरिरहेको छ । जसमा पहिलो ‘सघन सहरी विकास कार्यक्रम’मा २२ करोड १० लाख, दोस्रो ‘एकिकृत पूर्वाधार विकास’ कार्यक्रममा  ७ करोड बजेट  विनियोजन भएको छ ।

त्यस्तै तेस्रो ‘भवन निर्माण संहिता सरकारी भवन निर्माण’ कार्यक्रममा १३ करोड ७५ लाख, चौथो ‘एकिकृत स्वास्थ्य पूर्वाधार विकास’ कार्यक्रममा १८ करोड ३६ लाख र पाँचौँ कार्यक्रम ‘आवास व्यवस्थापन कार्यक्रम’ हो । जसमा १ करोड ४९ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै १२ करोड लगानीमा मुगुको बाढी पीडित एक बस्ती स्थानान्तरण गरिँदै छ । सबैभन्दा ठुलो आयोजनाका रुपमा १ अर्ब ५० करोडको लागतमा हुम्ला, डोल्पा, दैलेख, सल्यान र रुकुम पश्चिममा ५०/५० शय्या अस्पताल निर्माण हुँदै छन् ।

कोरोना भाइरसको प्रभाव, प्राविधिक जनशक्ति अभाव, हिउँदे विद्यालगायतका कारणले गर्दा बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ ।