पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भूमिसम्बन्धी समस्या समाधान आयोग चितवनको कार्यालय स्थापना

radionepal

शिशिर सिम्खडा, चितवन । भूमिसम्बन्धी समस्या समाधान आयोगको चितवनको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा आयोगको जिल्ला कार्यालय स्थापना भएको हो । 

कार्यालयको आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा केन्द्रीय अध्यक्ष ज्ञवालीले विधि र प्रक्रिया पुरा गरेर वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताउनुभयो । उहाँले घरदैलोमा पुगेर लगत सङ्कलन हुने भएकाले पहिचान गर्न सजिलो हुने उल्लेख गर्नुभयो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबास समाधान गर्न गठन भएकाले यसपालि आयोगले कामलाई पूर्णता दिने बताउनुभयो । भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग नै अन्तिम भएकाले कामलाई पूर्णता दिएरै छाडिने बताउनुभयो । 

अध्यक्ष ज्ञवालीले देशका ४६७ पालिकासँग कार्यसम्पादन समझदारी पत्रमा हस्ताक्षर भइसकेकाले लगत सङ्कलनको कामले देशव्यापी तीव्रता पाइरहेको बताउनुभयो । उहाँले झुक्काएर जग्गा दिलाउन सिफारिस गर्नेलाई २५ हजार रुपैयाँ र लिनेलाई १ वर्ष कैद र १ लाख जरिवानाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

चितवनका ७ स्थानीय तहमध्ये रत्ननगरले लगत लिने काम सकेको छ । यस्तै अन्य ६ स्थानीय तहसँग यही मङ्सिर २५ गते समझदारी पत्रमा हस्ताक्षर भैसकेको छ । 

कार्यक्रममा भरतपुर महानगरका उपमेयर पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, आयोगका सदस्य शान्तराज आचार्य, भूमिसम्बन्धी समस्या समाधान आयोग चितवन अध्यक्ष यादवप्रसाद पाठक लगायतले मन्तव्य राख्नुभएको थियो ।