पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

radionepal

हरिश्चन्द्र बाग
कञ्चनपुर  ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार भन्ने मूल नारासहित आज दैजी –छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ ।

त्यस क्रममा उहाँले औद्योगिक क्षेत्रमा विशेष प्याकेजसहित उद्योग कल कारखाना स्थापना हुने उल्लेख गर्नुभयो । उहाँले ग्रामीण औद्योगिक क्षेत्र देखि ठुला–ठुला उद्योगधन्दा सञ्चालन गर्न सरकार तल्लीन रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको दार्चुलास्थित गुमेको भूमि फिर्ता ल्याउने दाबी समेत गर्नुभएको छ । तुइन विस्थापित गरी सकभर पक्की पुल, नभए झोलुङ्गे पुल भए पनि निर्माण गरिने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राचीन इतिहासको साक्षी सुदूरपश्चिमको विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले  भूमिहीन, सुकुम्वासी, आरक्षपीडित र मुक्त कमैया, मुक्त हलिया जस्ता अव्यवस्थित बोसवासीहरूको उचित व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो ।

नेपालको हकमा दुई वर्षमै निक्कै चमत्कार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । अब नेपालमा कहिल्यै पनि लोडसेडिङ नहुने दाबी गर्नुहुँदै अबको दुई वर्षपछि नेपालले उत्पादन गरेको विद्युत् विदेशी मुलुकलाई बिक्री गर्ने योजना रहेको बताउनुभयो । उहाँले पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रको गौरवको योजनाका रूपमा स्थापित गरिने उल्लेख गर्नुभयो ।

उहाँले केही दिन भित्रै प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउने उल्लेख गर्नुहुँदै विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दा देश आन्दोलनमा जान् भन्दा प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्यो भन्ने गलत व्याख्या गरिएको बताउनुभयो ।