पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट

अजय बम, काठमाडौं । सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए । छनोट दुई चरणमा भएको थियो । 

पहिलो चरणमा सहभागी १ सय १२ मध्ये दोस्रो चरणका लागि ५० खेलाडी छनोट भएका थिए । ६२ खेलाडीले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । पहिलो चरणमा ४९ औं स्थानमा रहँदै छनोट भएका सफलरामले दोस्रो चरणमा सुधार गरेका थिए ।

विश्व स्की संघको वेभसाइडमा उल्लेख भए अनुसार सफलराम दोस्रो चरणमा ४४ औं स्थानमा रहन सफल भएका थिए । दक्षिण एसियाली राष्ट्रबाट २ खेलाडी सहभागी थिए । जसमा भारतीय खेलाडी मोहम्मद आरिफ खानले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । अब दक्षिण एसियाबाट सफलराममात्र प्रतिस्पर्धा गर्नेछन् ।