पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाद्वारा २० लाख सहयोग

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउन्डेसन र महानगरपालिकाबिच हिजो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । 

कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरै थोरै सहयोगले बल पुग्ने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । 

फाउन्डेसनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । 

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउन्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।