पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोडिनयुक्त नुनबारे नागरिकलाई सचेतना

radionepal

टेकराज भण्डारी, अछाम | अछामको चौरपाटी गाउँपालिकाले आयोडिनयुक्त नुनबारे नागरिकलाई सचेत पार्न थालेको छ । आयोडिन नुनको कमीले हुने शारीरिक समस्या तथा नुनको सही प्रयोगले हुने फाइदाबारे नागरिकलाई जानकार बनाउने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा मनाउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकाले यो अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताउनुभयो ।  अछामका ग्रामीण क्षेत्रमा अझै पनि खुला रुपमा राखिएको ढिके नुनको प्रयोग बढ्दो छ । ढिके नुनले शरीरमा आयोडिन तत्त्वको मात्रा पूरा नगर्ने भएकोले ढिके नुनलाई चौरपाटी गाउँपालिकामा बिक्री वितरण कार्य रोक लगाइएको अध्यक्ष साउदले बताउनुभयो ।

यस्तै चौरपाटी गाउँपालिकाले स्थानीय उत्पादन कोदो, भटमास लगायतलाई बजारीकरण गरी जनताको उत्पादनलाई उचित मूल्य दिने लगायतका काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।   

सचेतनामा आयोडिन युक्त नुनको प्रयोग, यसका फाइदा, आयोडिनको कमीबाट हुने असर लगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । सचेतनामा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।