पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला हिंसा न्यूनीकरण गर्न थप जनजागरण सञ्चालन जरूरी : राष्ट्रपति भण्डारी

radionepal

सुरेन्द्रमणि त्रिपाठी, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कार र महिला हिंसाजन्य घटनाहरू हुन नदिन थप जनजागरणको आवश्यकता रहेको बताउनुभएको छ ।

महिला अधिकार क्षेत्रमा कार्यरत संघसस्था लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुसंग आज राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले बलात्कार र महिला हिंसाजन्य घटनाहरू न्यूनीकरणका लागि सबैको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले महिला हिंसाजन्य घटनालाई जरैदेखि उखेल्नुपर्ने भन्दै यसका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा सरोकारवालाले दिने उपयुक्त सुझावहरू कार्यान्वयनमा लैजाने काममा आफू लाग्ने पनि बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री जुलीकुमारी महतोले बलात्कार र महिला हिंसाजन्य घटनाहरू न्यूनीकरणका लागि तीनै तहको सरकारले मिलेर काम गर्ने बताउनुभयो ।

छलफलमा सहभागी सङ्घसंस्थाका प्रमुख तथा महिला अधिकारकर्मीहरूले महिला सवालका कानुनहरू राम्रा रहेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नेदेखिंदा परिणाम सन्तोषजनक नरहेकाले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

महिला अधिकारकर्मीहरू बन्दना राणा, बबिता बस्नेत, निर्मला शर्मा, यशोदा तिम्सिना, नितु पण्डित, आरती चटौतलगायतले महिला हिंसाजन्य घटनाहरू न्यूनीकरणका लागि बिद्यालय स्तरदेखि नैतिक र नागरिक शिक्षाका बिषयबस्तुलाई समेट्नुपर्ने र जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।