पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सल्यानका २ प्रतिशत बालबालिका कुपोषित

radionepal

दीपक शर्मा, सल्यान । सल्यानका २ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले आज बुधवार कार्यालय परिसरमा आयोजना गरेको पत्रकारहरूसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । जसमा जिल्लाभरको बालबालिकाको अवस्थालाई हेर्दा कुपोषित बालबालिकाको सङ्ख्या २ प्रतिशत रहेको पाइएको छ । 

स्वास्थ्य संस्थाहरूमा गरिएको बालबालिकाहरूको तौलको आधारमा यस्तो तथ्याङ्क सार्वजनिक भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले जिल्लाभर कुपोषित बालबालिकाको सङ्ख्या अझै धेरै हुनसक्ने बताउनुभयो । ‘अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा २ प्रतिशत देखिएको छ, त्यो तौल जाँच गरेकाको सङ्ख्या मात्रै हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन्’ उहाँले भन्नुभयो । 

कार्यालयका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका छन् । जिल्लाको भू बनोट र खाने बानीमा भएको समस्याका कारण बालबालिकामा कुपोषण देखिएको उहाँको भनाई छ । उहाँका अनुसार कुपोषणको मुख्य दोष गरिबी नै हो । ‘जिल्लाको सबै क्षेत्रका बालबालिकामा पोषणको अवस्था कमजोर नै रहेको छ, त्यसमा पनि दार्मा गाउँपालिकाका बालबालिकामा अझ बढी छ’ उहाँले भन्नुभयो ।

बिहान बेलुकाको राम्रोसँग दुई छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएकै कारण कुपोषण भएको बताइएको छ । खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने सूचना अधिकारी डिसीको भनाई छ । गाउँघरमा खाना पोषिलो भन्दा पनि छाक टार्नका लागि खाने गरेकाले यस्तो समस्या देखिएको उहाँले जानकारी दिनुभयो । 

कार्यालयका अनुसार जिल्लाभरका ३७ प्रतिशत गर्भवती महिलाहरू घरमा नै सुत्केरी हुने गरेको पाइएको छ । यस्तै ३९ प्रतिशत नागरिकले मात्रै परिवार नियोजनका साधनहरू प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको कार्यालयका सि. अहेब अधिकृत रिखाराम पुनले जानकारी दिनुभयो । जसका कारण जिल्लामा गर्भपतन गर्नेहरूको सङ्ख्या धेरै भएको उहाँको भनाई छ ।

यस्तै जिल्लामा १ सय ८६ जना क्षयरोगका बिरामीहरू रहेका छन् । चालु आर्थिक वर्षको साउन देखी पुस सम्ममा जिल्लामा ७४ जना थप क्षयरोगका बिरामीहरू भेटिएका छन् । यस्तै जिल्लाभर १३ जना कुष्ठरोगका बिरामीहरू रहेको कार्यालयले जनाएको छ ।

यस्तै लैगिंक हिंसा पीडित ३१ जनाले कार्यालयबाट सेवा लिएका छन् । जिल्लामा सर्ने भन्दा पनि नसर्ने रोगको जोखिम धेरै भएको पाइएको छ । मधुमेह, मुटु सम्बन्धी समस्या, क्यान्सर लगायतका नसर्ने रोगको जोखिम धेरै भएको जनाइएको छ । कार्यालयले गत बर्ष पुँजीगत तर्फ ५० प्रतिशत र चालु तर्फ ६७ प्रतिशत बजेट खर्च गरेको थियो । 

कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले स्वास्थ्य सेवा कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित र थप स्तरीय बनाउनको लागि आफूहरूले पहल गरिरहेको बताउनुभयो । जिल्ला अस्पतालमा सेवाग्राहीहरूको विश्वसनीयता बढ्दै गएकाले चाप धेरै भएको बताउँदै उहाँले स्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ताराप्रसाद रिजालले गर्नुभएको थियो ।