पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सप्तरीमा चुनावी आचारसंहिताबारे छलफल 

radionepal

कृष्ण मण्डल, सप्तरी ।  आउँदो वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनावको लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले सरोकारवालाहरूसँग चुनावी गतिविधि बारे बुझ्न थालेको छ ।

केही हप्ता अगाडि नै मतदाता र मतदान स्थललगायतका कुराहरू बारे जानकारी गराएका कार्यालयले पुन सरोकारवालासँग चुनावी आचारसंहिता लगायत चुनावी गतिविधिबारे जानकारी दिन र लिन थालेको छ ।

अब बन्ने आचारसंहिताको मस्यौदामा पार्टीहरूले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सीमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैङ्क मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सीमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधन, मुख्य पात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यवस्थालगायत पहिलेको भन्दा यसपालिको आचारसंहितामा केही फरक र संशोधित व्यवस्था आयोगले गर्न लागेको कुरा निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले बताउनु भयो ।

त्यसै गरी अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपाय, शान्तिपूर्ण तरिकाले कसरी चुनाव सम्पन्न गर्ने लगायतका कुराहरूमा छलफल हुनुका साथै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका थिए ।

पाँचौँ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधैँ, सँगै मूल नारा राखी निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया राजविराजमा सम्पन्न गरेका थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल प्रहरीका डिएसपी भुवनेश्वर साह, सशस्त्र प्रहरीका डिएसपी श्याम मणि, विभिन्न राजनैतिक पार्टीका नेता, पत्रकारलगायतको सहभागिता रहेको थियो ।