पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सोलुमा हिमपात, जनजीवन प्रभावित

radionepal

सन्तोष राउतसोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी तथा खुम्बु क्षेत्रमा भएको भारी हिमपातका कारण जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ । फागुनको पहिलो साता बित्न लाग्दा घट्दै गएको जाडो हिउँ परेपछि अत्यधिक रुपमा बढेको स्थानीय बताउँछन् ।यस वर्ष हिमपात र वर्षा कम भएको अवस्थामा यो दोस्रो पटक हिमपात र पानी पर्दा स्थानीय तथा पशु चौपायाहरू प्रभावित भएका हुन् । चिसो अत्यधिक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको सोलुदूधकुण्ड नगरपालिका–५ सेर्गाका काले शेर्पाले बताउनुभयो । पशु चौपायालाई घाँस दिन कठिन भएको र मानिस पनि बाहिर निस्किन समस्या भएको उहाँको भनाइ छ ।

हिउँले पुरिएका सोलुखुम्बुका विभिन्न स्थान, तस्बिर : सन्तोष राउत

सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, पत्ताले, टाक्सिन्दु, वेनी जुभिङ्गलगायत सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । चिसो बढेपछि दैनिक काम समेत प्रभावित भएको बताइएको छ । सल्लेरीलगायत जिल्लाका विभिन्न स्थानबाट छुट्ने जिप तथा अन्य यातायातका साधन समेत बाक्लो हिमपातका कारण पत्तालेमा बिहान केही समय रोकिएका थिए ।

अहिले खुम्बुका स्थानीय बासिन्दाहरूलाई घर बाहिर निस्किन समेत समस्या भएको बताइएको छ । ‘पानी र हिमपात पर्दा चिसो अत्यधिक बढेको छ, बाहिर हिलाम्य भएर हिउँको थुप्रो छ ।’ नाम्चेका टसी शेर्पाले बताउनुभयो । त्यस क्षेत्रमा विद्यार्थी आउन नसक्दा कतिपय विद्यालयमा पठनपाठन हुन नसकेको उहाँले जानकारी दिनुभयो । हिमपातका कारण हिँड्न कठिन भएपछि विद्यार्थी नआउँदा धेरै विद्यालयहरूमा शिक्षक मात्र उपस्थित भएको विद्यालयहरूले जनाएका छन् ।

हिउँले पुरिएका सोलुखुम्बुका विभिन्न स्थान, तस्बिर : सन्तोष राउत

हिउँ पर्दाको लागि जोहो गरेको दाउरा, चौँरी तथा गाई वस्तुलाई खुवाउन राखेको घाँस समेत बारीमा लिन जान नसकेपछि हिमपात भएका क्षेत्रको जनजीवनमा थप कष्टकर भएको स्थानीय बताउँछन् । चिसोले विशेष गरी बालबालिका तथा बृद्धबृद्धाहरुलाई सताएको छ ।

यसैबिच, हिउँ पानी परेकाले कृषकहरूमा भने उत्साह जागेको पाइएको छ । विगत लामो समयदेखि पर्याप्त पानी नपर्दा चिन्तित कृषकमा खेतबारी भिज्ने गरी आएको हिउँपानीले खुसी ल्याएको हो । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानी धेरै महत्त्वपूर्ण भएको कृषकहरूको भनाई छ । अब मकै सजिलै उम्रने तामाखानीका कृषक रुपकाजी मगरले बताउनुभयो । अहिले जिल्लाका कृषि उत्पादन हुने क्षेत्रमा धमाधम मकै आलु रोप्ने काम भइरहेको छ ।