पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सल्यानका स्थानीय तहमा बन्न सकेन कृषि नीति

radionepal

दीपक शर्मा, सल्यान । सल्यानका दस वटै स्थानीय तहहरूमा अझै कृषि नीति बन्न सकेको छैन । स्थानीय सरकार गठन भएको झन्डै चार वर्ष बित्नै लाग्दासमेत स्थानीय तहहरूले कृषि नीति निर्माण गर्न सकेका छैनन् । 

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रको दिगो विकासमा समस्या भएको छ । स्थानीय तह सञ्चालन ऐन २०७४ मा स्थानीय तहहरूलाई कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार दिइएको छ ।

तर, कृषिसम्बन्धी नीति निर्माण हुन नसक्दा कृषि क्षेत्रको विकास अगाडि बढाउन असहज भएको पाइएको छ । जिल्लाका स्थानीय तहहरूले नीति बनाइ नसकेकाले कार्यविधि अनुसार कृषिका कार्यक्रम सञ्चालन भइरहेको जनाएका छन् । शारदा नगरपालिकाले कृषि नीतिको नमुना तयार भएको तर नगर सभाबाट पास नभएको जनाएको छ ।

नगरपालिकाको कृषि विकास शाखाका नायव प्राविधिक सहायक प्रकाश खड्काले कृषिसम्बन्धी नीति नहुँदा कार्यविधि अनुसार नै काम गरिरहेको जानकारी दिनुभयो । कृषि नीति निर्माण नभए पनि कृषि क्षेत्र प्राथमिकतामै रहेको उहाँको भनाई छ ।

त्रिवेणी गाउँपालिकाले पनि कृषि नीति निर्माण नभइसकेकाले कार्यविधि अनुसार नै काम गरिरहेको जनाएको छ । कृषि विकास शाखाका छैटौँ कृषि अधिकृत अमर बबालले कृषि नीति नभए पनि कार्यविधि अनुसार काम गरिरहेको बताउनुभयो । यस वर्ष कृषि क्षेत्रमा विनियोजन गरिएको बजेटमध्ये झन्डै ६० प्रतिशत भौतिक प्रगति भएको उहाँको भनाई छ ।

तर कृषि नीति निर्माण नहुँदा पालिकाहरूको कृषिसम्बन्धी दीर्घकालीन योजना के रहने र कृषिलाई कसरी अघि बनाउने भन्नेमा अन्यौलता सिर्जना भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।