पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घाइतेहरूको निःशुल्क उपचार गर्न मन्त्रालय र प्रतिष्ठानबिच समझदारी

radionepal

जुम्ला । द्वन्द्वकालका घाइतेहरूको उपचारका लागि कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

कानून मन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा.डा. मुनिराज क्षेत्रीको रोहवरमा आज कानुन मन्त्रालयका सचिव शोभाकान्त पौडेल र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाइले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरित समझदारी पत्र मन्त्रालय र प्रतिष्ठानका प्रतिनिधिहरू बिच एक आपसमा आदान–प्रदान गरिएको छ । 

जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार जुम्ला प्रतिष्ठानमा गराउने समझदारी भएको हो । द्वन्द्वमा घाइते भई हाल उपचारमा समस्या भोगिरहेका नागरिकहरुको उपचारार्थ देशका चार प्रतिष्ठान र एउटा प्रदेश स्तरको अस्पताललाई प्रति अस्पताल १० लाखका दरले रकम उपलब्ध गर्ने समझदारी गरिएको कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेश भरीका द्वन्द्वकालका घाइते अपाङ्गहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा निःशुल्क उपचार गराउन पाउने भएका छन् । 

मन्त्री भण्डारीले भन्नुभयो, “अहिले तत्काल घाइते योद्धाहरूको उपचार गर्न मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालसँग सम्झौता गरेको छ । एक हप्तामा पाटन स्वास्थ्य विज्ञान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँसँग सम्झौता गरिँदै छ ।”

जुम्ला प्रतिष्ठानमा आवश्यक बजेट सहित घाइतेको उपचारको व्यवस्था मिलाइएको उहाँको भनाई छ । 

औषधी उपचारको रकम बाहेक दैनिक एक हजारका दरले बढीमा सात दिनसम्मको लागि आवास तथा खाना खर्च वा उपचार अवधिभर सर्वसुलभ खाना र आवास उपलब्ध गराउनुपर्ने कुरा समझदारी पत्रमा उल्लेख छ । 

त्यसै गरी, उपचारको क्रममा दैनिक कुरुवा बस्नु पर्ने भएकोमा बसेको कुरुवालाई दैनिक एक हजार ५ सय रुपैयाँ उपलब्ध गर्ने गरी प्रतिष्ठान तथा अस्पतालसँग समझदारी भएको हो ।

दुई तर्फी भाडा, खानाको लागि कार्यविधि अनुसारको रकम सम्बन्धित अस्पतालबाट उपलब्ध हुने छ, साथै एक जना सहयोगीलाई समेत भाडा, खाना र बस्नको लागि कार्यविधिमा तोकिएको रकम सम्बन्धित अस्पतालबाटै उपलब्ध गराइने छ । 

निःशुल्क उपचारको व्यवस्था भएको कुरा विभिन्न आन्दोलनमा घाइते अपाङ्ग भएकाहरू खुसी भएका छन् । ढिलै भए पनि सरकारले आफ्ना पिर मर्का बुझेको भन्दै उनीहरू खुसी भएका हुन् ।