पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालद्वारा सञ्चालित सङ्गीत प्रशिक्षण उत्साहजनक रुपमा जारी

radionepal

अजय कुमार झा, जनकपुरधाम । रेडियो नेपालद्वारा मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा निर्माण भएको तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राममा जारी रहेको सङ्गीत प्रशिक्षणमा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

माघ १५ गतेदेखि शुरु भएको सङ्गीत प्रशिक्षणमा ७० जना प्रशिक्षार्थीहरुले नामाङ्कन गराएर प्रशिक्षण लिइरहनुभएको प्रशिक्षणमा समन्वय गरिरहनुभएका वरिष्ठ गायक रामा मण्डलले जानकारी दिनुभएको छ । रेडियो नेपालले पहिलो पटक उपत्यका बाहिर ९ औँ सङ्गीत प्रशिक्षणको आयोजना मोरङमा गरेको र त्यसमा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको गायक मण्डलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा सहभागी हुनका लागि मोरङ जिल्ला बाहेकका अन्य जिल्लाहरूबाट आएर कोठा भाडा लिई परीक्षार्थीहरू प्रशिक्षण भाग लिइरहनुभएको प्रशिक्षण कार्यक्रमका संयोजक मनराज नकर्मीले जानकारी दिनुभएको छ । प्रदेश नंं १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकाको वडा नंं ४ खार्जीमा रहेको स्मृति ग्राममा जारी रहेको तीन महिने प्रशिक्षणमा ८ वर्षको वालिका देखि प्रौढ उमेरका प्रशिक्षार्थीहरू सहभागी रहनुभएको छ ।

गीत, सङ्गीत प्रति अभिरुचि जगाउन तथा नयाँ नयाँ प्रतिभाहरू तयार गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा सहभागी हुनुभएको प्रशिक्षार्थीहरूमा निक्कै उत्साह देखिएको छ । प्रशिक्षण दिनका लागि रेडियो नेपालका प्रसिद्ध प्रशिक्षकहरू आवासीय रुपमा नै प्रशिक्षण दिइरहनुभएको छ ।

अहिलेसम्म स्वरतर्फ ३८ जना, हारमुनियमतर्फ १६ जना, बाँसुरीतर्फ ९ जना तथा गितारतर्फ ७ जनाले नामाङ्कन गरेर प्रशिक्षण लिइरहनुभएको छ । रेडियो नेपालको स्थापनामा महत्त्वपूर्ण योगदान रहेको र पहिलो उद्घोषक समेत रहनुभएको स्वर्गीय तारणीप्रसाद कोइरालाको स्मृतिमा रेडियो नेपाल, नेपाल सरकार तथा विराटनगर महानगरपालिकाको संयुक्त सहकार्य एवं लगानीमा निर्माण अन्तिम चरणमा भएको भव्य सञ्चार ग्रामको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको गीत सङ्गीत, भाषा, संस्कृति, कला साहित्य र पत्रकारिता क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । 

सञ्चार ग्राममा जारी रहेको प्रशिक्षणमा स्वरतर्फ गायक हरि शंकर चौधरी, बाँसुरी तथा हारमुनियमतर्फ डा. निरञ्जन भण्डारी तथा गितारतर्फ दिपक सुनामले प्रशिक्षण दिइरहनुभएको छ । आफ्नै गाउँ ठाउँमा प्रशिक्षण पाएकोमा प्रशिक्षार्थीहरूमा निक्कै उत्साह देखिएको छ । 

बिहानदेखि दिउँसोसम्म प्रशिक्षण हुने गरेका कारणले उक्त क्षेत्रको चहल पहलमा पनि वृद्धि भएको छ । अहिले प्रशिक्षणका लागि चाहिने पूर्वाधारहरू पूर्ण रुपमा नबने पनि प्रशिक्षार्थीहरूमा सङ्गीत सिक्ने उत्साह निक्कै रहेको छ ।