पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘हुतराज अर्धचन्द्र’ पत्रकारिता पुरस्कार सुवेदी र आचार्यलाई

सिन्धुपाल्चोक  । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले पत्रकारद्वय देवराज सुवेदी र दुर्गा आचार्यलाई ‘हुतराज अर्धचन्द्र’ पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । 

प्रत्येक वर्ष प्रदान गरिँदै आएको सो पुरस्कार संस्थाले उहाँहरुलाई प्रदान गरेको हो । इन्द्रेश्वरी मावि मेलम्चीको २७ औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार देवराज सुवेदी र दुर्गा आचार्यलाई पुरस्कारस्वरुप जनही रु पाँच हजार १०० सहित सम्मान गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो । आचार्य इमेज कम्पनीको अनलाइन इमेज खबरको डेस्क एडिटर रहनुभएको छ भने सुवेदी रासस र रेडियो मेलम्चीको स्टेशन म्यानेजर रहेर काम गर्दै आउनुभएको छ । 

पुरस्कार ग्रहण गरिसकेपछ सुवेदीले सोही विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई रु १० हजार १०० सहयोग गर्नुभएको थियो । आफूलाई पुरस्कार ग्रहण गर्दा अत्यन्तै खुशी लागेको भन्दै आफूले पाएको रकममा रेडियो मेलम्चीकोतर्फबाट रु पाँच हजार थप गरी सहयोग गर्न पाउँदा झनै खुशी लागेको उहाँले बताउनुभयो । 

शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दङ्गाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिनुभयो । अहिले संस्थाले दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, दलित र आर्थिक अवस्था न्यून भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
रासस