पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रचार प्रसारको अभावमा शुक्लाफाँटामा पर्यटकको आँखा परेन

radionepal

कृष्ण साउद, कञ्चनपुर । सुदूरपश्चिमको सहज पर्यटकीय स्थल र कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरदेखि पाँच किलोमिटर पश्चिम दक्षिण मझगाउमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार रहेको छ । जहाँबाट दक्षिण एसियाकै ठूलो घाँसे मैदान त्यहाँबाट २४ किलोमिटरको दुरीमा छ भने विश्वकै दुर्लभ बाह्रसिङ्गाको ठुलो झुन्ड सहज देख्न सहिन्छ ।

थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वकै दुर्लभ बाह्रसिङ्गाको ठूलो झुन्ड, स्थानान्तरणपछि फस्टाउँदै एक सिंङ्गे गैँडा र अति सङ्कटापन्न कृष्णसार, मौसमी हात्तीको लस्कर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यति मात्रै नभई पर्यटकका लागि शुक्लाफाँटा दुर्लभ चराचुरुङ्गी र जलचरको बास स्थानसङै जैविक विविधताले भरिभराउ रहेको छ ।

२०२६ सालमा शिकार आरक्षका रुपमा संरक्षण गरिएको यो आरक्षको १५५ वर्ग किलोमिटर क्षेत्रफललाई वि.सं.२०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरियो । त्यसको चार वर्षपछि वि.सं २०३६ सालमा आरक्षको पूर्वतर्फ १५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरी यसको कुल क्षेत्रफल ३०५ वर्ग किलोमिटर पुर्‍याएको हो ।

क्षेत्रफलका आधारमा विश्वमै बढी पाटे बाघको वासस्थान रहेको मानिन्छ । उपयुक्त वासस्थान र आहार प्रजातिको पर्याप्तता पछिल्ला वर्षमा शुक्लाफाँटा बाघ संरक्षणका लागि महत्त्वपूर्ण मानिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय गणनापछि सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्लाफाँटामा न्यूनतम १३ र अधिकतम १७ बाघ रहेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो ।

सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता अनुरूप बाघको गणनासँगै वासस्थान र आहार प्रजातिको पनि नियमित अनुगमन गरिँदै आएको छ । शुक्लाफाँटामा बाघको आहारा प्रजातिको पर्याप्तताले यसको सङ्ख्यामा वृद्धि हुँदै आएको छ । 

तथ्यांकअनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमटिरमा बाघको आहारा प्रजातिको घनत्व छ । जसमा चित्तल, बाह्रसिङ्गा, बँदेल, लगुना, रतुवा, नीलगाई लगायत रहेका निकुञ्ज प्रशासनले जनाएको छ ।

चोरी शिकारी नियन्त्रणले यहाँ बाघको संरक्षण सफल भएको छ । सुरक्षार्थ यहाँ नेपाली सेनाको गणसँगै निकुञ्जका कर्मचारी खटिएका छन् । मझगाउँ हेडक्वाटरसंगै २१ पोस्ट स्थापना गरी आरक्षमा हुने अवाञ्छित गतिविधिको निगरानी हुने गरेको प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।

पछिल्लो गणनाअनुसार ३ हजार बढी बाह्रसिङ्गा छन् । एक रैथाने गैँडा रहेको शुक्लाफाँटामा वि.सं.२०५८ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट चार वटा गैँडा स्थानान्तरण गरिएपछि अहिले उचित वासस्थान र संरक्षणका कारण यहाँ एकसिंहे गैँडाको सङ्ख्या पनि ७ पुगेको निकुञ्जले जनाएको छ । हिरापुर फाँटामा स्थानान्तरण गरिएका संकटानपन्न कृष्णसार पनि फस्टाउँदै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताउनुभयो छ ।

जैविक विविधतासँगै यहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वको सिंहपाल बाबाको मन्दिर पनि छ ।  तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाले गौः दान गरेको स्थलमा राखिएको शिलालेख पनि छ ।

स्थानीय जनतालाई संरक्षणमा सहभागी गराउने र संरक्षणबाट प्राप्त हुने प्रतिफलको उपभोग समेत गर्न पाउने अवधारणा अनुरूप वि.सं. २०६१ साल जेठ ९ गते शुक्लाफाँटा मध्यवर्ती क्षेत्र घोषणा गरियो थियो । घोषणा गरिएको मध्यवर्ती क्षेत्रको २४३.५ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ ।

पर्याप्त सम्भावनाका बाबजुद यस आरक्षले नेपालका अरू संरक्षित क्षेत्रको तुलनामा पर्यटक भित्र्याउन सकेको छैन । पर्याप्त प्रचार प्रसारको अभावसँगै पर्यटन व्यवसायीले लगानी गर्न नसक्दा यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न सकेको छैन ।