पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रथम रानाथारू सूचीकृत दिवस मनाइयो

radionepal

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुर र कैलालीका रानाथारू समुदायले प्रथम रानाथारू सूचीकृत दिवस मनाएका छन् । गत वर्ष माघ २० गतेका दिन नेपाल सरकारले रानाथारू समुदायलाई आदिवासी जनजातिमा अलग्गै सूचीकृत गरेको अवसरमा प्रथम सूचीकृत दिवस मनाउन लागेका हुन् । 

सूचीकृत दिवसको अवसरमा नेपाल रानाथारू समाज केन्द्रीय कार्यसमितिले मङ्गलवार कञ्चनपुरको कृष्णपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विघटित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले लामो सङ्घर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताउनु भयो । 

त्यस्तै, नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले रानाथारू समुदायको सूचीकृत सँगै रानाथारू भाषा सूचीकृत, व्याकरण तथा शब्दको निमार्ण एवं मुख्य पर्वहरूमा सार्वजनिक बिदा लगायतका उपलब्धिमूलक कार्य भएको उल्लेख गर्नुभयो । 

रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्ने वर्तमान सरकार र सहयोगी सम्पूर्ण निकाय प्रति आभार व्यक्त गर्दै विभिन्न क्षेत्रमा रानाथारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका रानाथारू समुदायका व्यक्तिहरूलाई सहिद घोषणा लगायतमा माग अघि सारेको उहाँले बताउनु भयो ।