पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘निर्वाचनका लागि खर्च हुँदा आर्थिक क्रियाकलाप बढ्छ’

radionepal

भुवनप्रसाद आचार्य, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनका लागि खर्च हुँदा आर्थिक क्रियाकलाप बढ्ने र अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभएको छ । 

नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय भन्सार दिवससम्बन्धी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा चित्रण नगर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाउन समेत सहयोग गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि र विकासतर्फ मुलुकलाई अघि बढाउने बाटोमा सरकार रहेको बताउनुभयो ।

छलफलमा अर्थ सचिव शिशिरकुमार ढुगांनाले अर्थतन्त्रलाई चलायमान बनाउने वातावरण क्रमशः निर्माण हुँदै गएको बताउनुभयो ।

भन्सार मूल्याङ्कन र दरका बारेमा क्रमिक रुपमा सुधार हुँदै गएको पनि अर्थ सचिव ढुगांनाले बताउनुभयो । 

कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपालको भन्सार प्रशासन क्रमिक रुपमा पारदर्शी, प्रतिस्पर्धी र प्रविधियुक्त हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भन्सार प्रशासन, मूल्याङ्कन प्रक्रियामा अझ धेरै सुधारको आवश्यकता रहेको बताउनुभयो ।