पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

अजय बम, काठमाडौँ । साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश दुईलाई चार विकेटले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनायो । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले ४७ ओभरमा झारिएको खेलमा नौ विकेट गुमाउँदै एक सय ६९ रन बनायो । 

जवाफमा पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । यो जितपछि पुलिस समूह बी बाट उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसको जितले लुम्बिनीको यात्रा समूह चरणमा नै रोकिएको छ । समूह बी बाट विजेताका रुपमा बाग्मतीले सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्को खेलमा विभागीय टिम एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हारपछि पनि त्रिभुवन आर्मी समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हरायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४९ ओभर तीन बलमा दुई सय ४० रनमा अलआउट भयो । जवाफमा आर्मीले ५० ओभरमा आठ विकेट गुमाउँदा २ सय ३४ रन बनायो । अब सेमिफाइनलमा एपीएफले नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले बाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।