पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मकवानपुरमा सहकारीले दाना उद्योग सञ्चालन गर्दै 

radionepal

विश्व अधिकारी, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । 

प्रदेश सरकार, गाउँपालिका र दूध संस्थाबाट शेयर जारी गरेर प्राप्त सहयोगबाट मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टीकृत सहकारी सङ्घले दाना उद्योग सञ्चालन गर्न लागेको हो । 

मकवानपुरगढी गाउँपालिका–३ स्थित तल्लो कालिखोलामा दाना उद्योग स्थापनाको लागि बागमति प्रदेश सरकारले ३६ लाख १५ हजार, गढी गाउँपालिकाबाट ५३ लाख र शेयर जारी गरी दूध संस्थाबाट ७९ लाख २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको संघका अध्यक्ष हरिकुमार हुमागाईँले जानकारी दिनुभयो । 

उद्योगबाट गाईको लागि प्लेट दाना र मास दाना र कुखुराको लागि प्लेट दाना उत्पादन गरिने र उद्घाटनको दिन उद्योग परीक्षण गर्ने योजना रहेको उहाँले बताउनुभयो । ६ कट्ठा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको उद्योगको माघ २३ गते उद्घाटन गर्ने बताइएको छ । उद्योगले प्रति घण्टा २ सय बोरा दाना उत्पादन गर्ने उहाँले बताउनुभयो । 

उद्योग स्थापनाको लागि चालु आर्थिक वर्ष ०७७–०७८ मा सङ्घीय सरकारले ९९ सय लाख रुपैयाँ र गढी गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजित गरेको उहाँले बताउनुभयो । 

लागत अनुसार दानाको मूल्याङ्कन निर्माण गर्न बाँकी रहेको र दानाको मूल्याङ्कन सञ्चालक समितिको बैठकले तय गर्ने समेत उहाँले बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि जिल्लाका किसानहरू लाभान्वित हुने उहाँको भनाइ छ । उद्योगबाट १० जनाले प्रत्यक्ष रोजगारी समेत पाउने छन् ।