पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बारामा माछापालन व्यवसाय फस्टाउदै

radionepal

६ महिनामा ६ अर्ब बराबरको माछाको कारोवार

ध्रुव अधिकारी
बीरगंज ।
बारा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन  अन्तर्गत माछा जोन क्षेत्र घोषणा गरिएपछि अहिले जिल्लामा माछा पालन व्यवसाय फस्टाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बारा जिल्लामा ६ अर्ब बराबरको माछाको कारोबार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन माछा बाराका प्रमुख डा. सुरेन्द्र यादवले बताउनुभयो ।

बाराका किसानहरूले माछा उत्पादनबाट राम्रो आम्दानी गर्न थालेपछि माछा पालन व्यवसाय फस्टाउँदै गएको यादवले बताउनुभयो ।

जिल्लामा रहेका दुई हजार ५ सय हेक्टर क्षेत्रफलको पोखरीबाट बर्सेनि ३० हजार मेट्रिक टन माछाको उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

तीमध्ये एक हजार ७ सय हेक्टर क्षेत्रफल पकेट क्षेत्रका माछा पोखरी रहेका छन् । बारामा उत्पादित ९० प्रतिशत माछा बीरगंज, हेटौँडा, नारायणघाट, काठमाडौँ लगायतका क्षेत्रमा आपूर्ति हुने गरेको तथा हाल भारतको विहारमा समेत वाराबाट २० देखि २५ प्रतिशत जिउँदो माछा जाने गरेको किसानहरूले बताएका छन् ।

जिउँदो माछा लिन व्यवसायीहरू पोखरीमै आउने गरेको र बजारको कुनै समस्या नरहेको किसानहरूले बताएका छन् ।

माछा पालनका लागि बारामा आवश्यक पूर्वाधारसँगै पानीको श्रोत सुहाउँदो माटो र न्यानो हावापानी भएकाले माछा पालक किसानहरू वर्षमा तीन पटकसम्म माछा बिक्री गर्ने गरेकाले अन्य कृषि व्यवसाय भन्दा माछा पालन व्यवसाय नै बारामा आम्दानीको मुख्य श्रोत बन्दै गएको मत्स्य पालक किसानहरूले बताएका छन् ।