पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिम्रौनगढमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

सिकेन्द्र पासवान, बारा । बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

सामाजिक विकास मन्त्रालय, नेपाल औषधी उत्पादक सङ्घ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फि. ए. गुल्मको संयोजकत्वमा एवम् सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो । 

नेपाली सेना र नागरिक बिचको सम्बन्धलाई प्रगाढ बनाउन र जनतासँग प्रत्यक्ष घुलमिल गर्नमा सहयोग पुग्ने उद्देश्यले सो शिविरको आयोजना गरिएको श्री नम्बर २८ बाहिनीका बाहिनीपति जोनसन खडकाले जानकारी दिनुभयो । श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानीयहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका थिए । 

“दुःखको बेला नेपाली सेना, जनतासँग” भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाइरसका कारण तथा आर्थिक विपन्नताको कारण औषधी उपचार गराउन नपाएका सर्वसाधारणहरूको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताउनुभयो । 

उक्त स्वास्थ्य शिविरमा करिब ७ सय जना सर्वसाधारणहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।  शिविरमा १ सय ८९ जना महिला १ सय ४५ जना पुरुष र ७६ जना बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो । 

स्वास्थ्य परीक्षण गर्दा स्थानीयहरूमा श्वासप्रश्वास, ग्यास्ट्रिक, हाड जोर्नी, एलर्जी, आँखाको समस्या, पेट सम्बन्धीका रोगहरू बढी मात्रामा देखिएको र उक्त शिविरमा स्थानीयहरूलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, ई. सी. जी. लगायतका सेवाहरू प्रदान गरी निःशुल्क औषधी वितरण गरिएको थियो । 

श्री नम्बर २८ फिल्ड एम्बुलेन्स का डाक्टर अधिकृत सह सेनानी सृष्टिना प्रधानको नेतृत्वमा १५ जना मेडिकल टिमले चेकजाच गर्नुभएको थियो । आफ्नै गाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधी पाएपछि  सिम्रौनगढ नगरपालिका वडा नम्बर १० का जगदिस पण्डितले  खुसी गर्दै नेपाली सेनालाई धन्यवाद दिनुभएको थियो । 

श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति जोनसन खड्काको समन्वयमा सञ्चालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगर क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरी आफ्नो कर्तव्य निर्वाह गरेका बताउँदै भयो । शिक्षा, स्वास्थ्य सरसफाइ सुशासन कायम गर्नेका लागि आफूले काम अगाडी बढाई रहेको  बताउनुभयो । 

कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, श्री चन्दननाथ गणका गणपति प्र.से. श्री श्याम शरण गोतामे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही  सशस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक, स्थानीय निकायका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकारहरू, शिक्षकहरूको  ठुलो सङ्ख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।