पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुम्लामा स्याउ खेतीमा लगानी बढ्दै 

radionepal

सागर परियार, जुम्ला । जुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने, उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडौँ लगानी गरेर फुजीजातको व्यवसायीक स्याउ खेतीमा जुटेका छन् । 

गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गर्नु भएको छ । ९५ जना स्थानीयको १ लाख ५० हजार वर्ग मिटर जग्गा २० वर्षका लागी लिजमा लिएर फुजीजातको स्याउ खेती गर्न थालिएको छ । करोडौँ लगानी गरेर, जगा लिजमा लिएर स्याउ खेतीमा होमिनु भनेकै फुजी स्याउको व्यवसायीक उत्पादन तथा आर्थिक समृद्धिको सङ्केत हो । 

भण्डारीले भन्नुभयो,“गुठिचौरको सबै क्षेत्र स्याउ खेतीका लागि उत्तम छ । स्याउ खेती नै जुम्लाको आर्थिक समृद्धिको मेरुदण्ड भएकाले १५÷२० जना युवालाई रोजगारी मिल्ने, आर्थिक आम्दानी पनि हुने र बाझो जग्गा सदुपयोग हुने गरी १३ लगानीमा फुजीजातको स्याउ खेती गर्दैछु ।”  

व्यवसायीक स्याउ खेती गर्नका लागि खासै सरकारी अनुदान नभए पनि जुम्लाका किसानहरू फुजीजातको स्याउ खेती तर्फ आकर्षित भएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीले बताउनुभयो । गुठिचौरमा परियोजनाकै रुपमा १३ करोड लगानीमा सञ्चालन हुन लागेको स्याउ खेतीलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने र प्राविधिक सहयोग गर्ने उहाँको भनाई छ । 

त्यस्तै तातोपानी गाउँपालिका–६ हियाखोला गाउँका १ लाख ३० हजार वर्ग मिटर क्षेत्रफल भएको जमिनमा ४ हजार फुजीजातको स्याउका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

स्याउ खेतीमा कृषि कार्यालय र सुपरजोनले बिरुवा र साना सिचाई घेरबारमा केही अनुदान पनि दिन तयारी गरिएको भण्डारीले उल्लेख गर्नुभयो । फुजीजातको स्याउ प्रतिबिरुवा एक हजार र स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपियाँ र ओखर प्रतिबिरुवा ७ सय रुपियाँ जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेट अनुसार कृषकले प्रतिबिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेका छन् ।

जुम्लामा पहिलो पटक २०७३ माघमा चन्दननाथ मन्दिरको शेराज्यूलामा फुजीजातको स्याउ खेती शुरु गरिएको थियो । उक्त स्याउ खेती सफल भए सँगै जुम्लामा फुजीजातको स्याउ खेती विस्तार भएको हो । 

जुम्लाको कुल क्षेत्रफलमध्ये ३ हजार ८ सय हेक्टर जमिनमा स्याउ खेती थालिएकोमा १ हजार ५ सय हेक्टर जमिनमा  स्याउ उत्पादन भइरहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।