पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्सामा निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया शुरु

ध्रुव अधिकारीवीरगंज । प्रतिनिधि सभाको आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने घोषणा भएसँगै पर्सामा जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

पर्सामा आगामी निर्वाचनका लागि १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फोटोसहित मतदाता नामावली सङ्कलन कार्य जारी राखिएको थियो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि ६ गतेबाट मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ ।

०७४ सालमा पर्सामा २ लाख ८९ हजार ५४ मतदाता रहेकोमा अहिले ३ लाख १ हजार ४ सय ७३ जना पुगेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

निर्वाचन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै आगामी माघ १५ गते देखि २१ गते सम्म सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधि कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

निर्वाचन कार्यालय पर्साद्वारा जारी सूचनामा माघ १५ गते महानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन, माघ १६ गते देखि १८ गते सम्म मतदाता नामावलीमा रहेका नाम र विवरणमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम सुचीबाट हटाउन सूचना दिने र माघ १६ र १७ मा झुटा विवरणको आधारमा मतदाता नामावलीमा नाम समावेश भए सोको विरोधमा निवेदन दिने गरी सूचना जारी गरिएको छ ।

यसैबिच मतदाता सङ्ख्या बढेसँगै जिल्लामा मतदान केन्द्र पनि थपिएको छ । वैशाख १७ र २७ गते हुन लागेको संसदीय निर्वाचनको लागि पर्सामा ३ सय ६१ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनु भयो । 

१ हजार मतदाता बराबर एउटा मतदान केन्द्र तोकिएको हुन्छ, मतदाता सङ्ख्या बढेकोले पर्सामा १० वटा मतदान केन्द्र थपिएको झाले बताउनु भयो ।