पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२५८ औँ मकवानपुरगढी विजय उत्सव मनाइयो 

radionepal

विश्व अधिकारी, मकवानपुर । मकवानपुर जिल्ला स्थित ऐतिहासिक मकवानपुरगढीको २५८ औँ विजय उत्सव शनिबार मनाइएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा हरेक वर्ष झैँ यो वर्ष पनि विजय उत्सव मनाइएको हो । 

मकवानपुरगढी विजय उत्सव मूल समारोह समितिका अध्यक्ष एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि दाहालले मकवानपुरगढीको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वीर पुर्खाको प्रतीकका रुपमा रहेको ऐतिहासिक दरबारलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरानमा उपत्यका विजय प्राप्त गर्न मकवानपुर राज्यको एकीकरण अत्यावश्यक ठानी विसं १८१९ भदौ ९ गते लडाइँ गरी मकवानपुरगढीमा विजय प्राप्त गर्नुभएको थियो । 

मकवानपुर राज्यको पराजयपछि राजा दिग्बन्धन सेनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा मुगल फौजलाई गोर्खाली सेनाले विसं १८१९ माघ १० गते परास्त गरेको सम्झनामा मकवानपुरगढी दरबारमा हरेक वर्ष माघ १० गते उत्सव मनाउने गरिएको हो । 

विजय उत्सवका अवसरमा झण्डात्तोलन गर्नुका साथै नेपाली सेनाद्वारा सलामी समेत अपर्ण गरिएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा, मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्रिन लगायतकाले मकवानपुरगढी दरबारले ऐतिहासिक महत्त्व राख्ने हुँदा यसको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।