पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमति 

भुवनप्रसाद आचार्य, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई धितोपत्र व्यापारीको कार्य गर्न अनुमति प्रदान गरेको छ ।

चालु बजेटमा रहेको कार्यक्रम अनुसार बोर्डले नागरिक लगानी कोषको लगानीमा स्थापित नागरिक स्टक डिलर लिमिटेडलाई फागुन १ गतेदेखि सञ्चालन हुने गरी स्टक डिलरको रुपमा कारेवार गर्न अनुमति प्रदान गरेको हो ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन पनि गरेको छ ।

नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

नेपालको पूँजीबजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजीबजारमा गतिशिलता आई बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको नेपाल धितोपत्र बोर्डले उल्लेख गरेको छ ।