पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको चरणमा प्रवेश’

radionepal

रामनारायण महतो, बर्दिबास । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपालका पत्रकारले लोकतान्त्रिक पद्धतिमा वैश्विक पहिचान स्थापित गर्ने बताउनुभएको छ । 

शुक्रवार महोत्तरीको बर्दिबासमा नेपाल पत्रकार महासङ्घको केन्द्रिय नेतृत्व र महोत्तरी जिल्लाका पत्रकारबीच अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले अब केन्द्रीय, प्रादेशिक र जिल्ला शाखाको नेतृत्व चयन एकै दिन र प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पद्धति महासङ्घले अँगालेको बताउनुभयो । 

महासङ्घको अहिलेको केन्द्रीय नेतृत्वकै कार्यकालमा श्रमजीवी पत्रकार ऐन बनेर कार्यान्वयनको चरणमा प्रवेश गरेको, समानुपातिक विज्ञापन नीति बनेर विज्ञापन बोर्डसमेत गठन भई काम अघि बढेको र ज्येष्ठ पत्रकार (६५ वर्ष उमेर पुगेका) लाई अब चाँडै मासिक निवृत्तिभरण भत्ताको प्रबन्धसमेत गरिएर चाँडै लागु हुने चरणमा प्रवेश गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल र कोषाध्यक्ष राजेश मिश्रले मुलुकको लोकतान्त्रिक आन्दोलनमा नेपाली पत्रकारले संस्थागत रुपमा सधैँ योगदान गर्दै आएका उल्लेख गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका पत्रकारले कोभिड–१९ प्रभावित सञ्चारकर्मी र सञ्चार गृहलाई आफ्नो पेसामा टिक्ने अवस्थाको सहयोग पुर्याउन केन्द्रीय नेतृत्वसमक्ष आग्रह गर्नुभएको थियो ।