पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

 प्रभावकारी बन्दै 'नागरिक एप'

radionepal

सरिता खनाल
काठमाडौँ ।
 सरकारले सम्भव भएसम्म सबै सरकारी सेवा एउटै अनलाइनका माध्यमबाट प्रदान गर्ने गरी गत शुक्रवारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ ।

सरकारी सेवाका लागि सेवाग्राहीलाई कार्यालय नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ सुरु गरिएको नागरिक एपबाट सहज रुपमा सेवा लिन सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले एप सञ्चालनमा ल्याएसँगै विभिन्न किसिमका सरकारी विवरण सम्बन्धी जानकारी लिनका लागि घण्टौँसम्म कार्यालयमा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने नागरिकको विश्वास छ ।

सरकारले विभिन्न सेवा अनलाइन प्रणालीबाट दिन थालेको भए पनि सेवा लिने माध्यम फरक÷फरक भएको र एपको प्रयोगमा पनि झन्झट हुने गरेकोमा यसले सबै सेवा एकीकृत रूपमा उपलब्ध गराउँदा सहज भएको बताउनुहुन्छ एप डाउनलोड गरी सेवा समेत लिइसक्नुभएका काठमाडौँमा स्नातक तहमा अध्ययनरत एक विद्यार्थी प्रविज्ञ दाहाल ।

उहाँले जस्तै सञ्चालनमा आएको एक हप्ता पनि नबित्दै ३ लाखभन्दा बढी नेपाली नागरिकले नागरिक एप डाउनलोड गरिसकेका छन् भने लगभग १ लाख जनाले यसबाट विभिन्न विवरण सम्बन्धी जानकारी लिइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारी सेवा सहज रुपमा जनताको हात हातमा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको नागरिक एपमार्फत हाल ९ किसिमका सेवा लिन सकिनेछ भने पछि यसबाट एक सयभन्दा बढी किसिमका सेवाहरू प्रदान गर्ने गरी काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख, सहसचिव अनिलकुमार दत्तले जानकारी दिनुभयो ।

यसको सञ्चालनका लागि मोबाइलको प्ले स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ भने यो एप प्रयोग गर्न आफ्नो नाममा मोबाइल नम्बर अनिवार्य हुनुपर्छ ।

मोबाइल नम्बर राखिसकेपछि नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रूपमा पत्ता लगाउने गरी प्रविधिको विकास गरिएको छ भने मोबाइल नम्बर राखिसकेपछि त्यो नम्बरमा ६ वटा अङ्कको कोड उपलब्ध हुन्छ । त्यो कोड राखेपछि परिचयपत्रको प्रकार छनोट गर्ने सुविधा हुन्छ । जसमा नागरिकता, मतदाता र राहदानीको परिचयपत्र छनोट गर्न सकिने सुविधा रहेको छ ।

अहिले प्राय सबै मानिससँग मोबाइल हुने हुँदा उनीहरूलाई आफ्ना सबै विवरण घरमै बसेर जानकारी लिनका लागि नागरिक एप निकै प्रभावकारी हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रका इन्जिनियर त्रिदेवचन्द्र यादवले बताउनुभयो ।

सरकारले सेवाग्राहीको सहजताका लागि सञ्चालनमा ल्याएको नागरिक एपबाट विभिन्न जानकारी प्राप्त गर्न सजिलो भए पनि असुरक्षित रहेको भन्ने गुनासो समेत सुनिन् थालेको छ ।

प्रयोगकर्ताले आफ्नो मोबाइलमा एप डाउनलोड गरिसकेपछि त्यहाँ मोबाइल नम्बर राखेपछि मोबाइलमै आएको पासवर्ड राखेर मात्रै अगाडी बढ्न सकिने भएकाले यो पुर्णरुपमा सुरक्षित रहेको र यसलाई थप सुरक्षित बनाउनका लागि त्यसमा देखिएका कमजोरी पत्ता लगाएर हटाउने काम समेत गरिसकिएकाले यो पुर्णरुपमा सुरक्षित रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिलकुमार दत्तले जानकारी दिनुभयो ।

हाल यस एपबाट प्यान नम्बर लिन मिल्छ भने नागरिकता, राहदानी, मतदाता परिचयपत्र, नागरिक लगानी कोष, सञ्चय कोष, शैक्षिक उपलब्धिलगायतका नौ प्रकारका विवरणहरू हेर्न सकिन्छ ।

आगामी दिनमा सरकारले भूमिसुधार तथा मालपोत सम्बन्धी सेवाहरू, सवारी चालक अनुमति पत्रसहित एक सयभन्दा धरै किसिमका विवरण सम्बन्धी सेवा यो एपमा एकीकृत गर्ने योजना बनाएको छ ।