पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पीएम कप एक दिवसीय क्रिकेटः त्रिभुवन आर्मीको तेस्रो जित

अजय बम, काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधवार प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।

प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । 

यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । प्रदेश–१ को भने यो लगातार तेस्रो हार हो । प्रदेश–१ तीन खेलमा अङ्कविहीन रहेर पुछारमा रहेको छ । यस हारसँगै प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि प्रदेश–१ एपीएफ र गण्डकीसँग पराजित भएको थियो ।