पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुम्लाबाट स्याउका बिरुवा निर्यात सुरु

सागर परियार, जुम्ला । जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा विभिन्न जिल्लामा निर्यात हुन थालेका छन् । 

जिल्लाबाहिरका किसान जुम्ली स्याउको बिरुवा लिन नर्सरीमै पुगेपछि त्यहाँ उत्पादित बिरुवाको निर्यात बढेको छ ।  

यो वर्ष जुम्लाको सिञ्जाका किसान हंस कठयताले ६ हजार स्याउका बिरुवा कृषि कार्यालय दाङको टोलीलाई बिक्री गर्नुभएको छ । 

बिरुवा बेचेरै उहाँले यो समयमा ३ लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । अर्ग्यानिक स्याउ उत्पादनका रुपमा जुम्लाले आफ्नो पहिचान बनाइसकेकोले निरोगी बिरुवा उत्पादन गरेर जिल्लाबाहिर पठाउन जुम्ली किसान जुटेका हुन् । 

जुम्लाको स्याउका बिरुवा तत्कालीन कर्णालीका ५ जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेका छन् । 

जिल्लामा हाल ४ हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको मध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपर जोन परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।