पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

“कृषि बण्ड” र “किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप” सार्वजनिक 

भुवनप्रसाद आचार्य, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकका आर्थिक सूचकहरू सकारात्मक रहेको बताउनुभएको छ ।

बुधवार कृषि विकास बैङ्क लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोनाका कारण राजश्व परिचालनका केही सन्दर्भमा प्रतिकूलता रहे पनि अन्य क्षेत्रमा आर्थिक सूचकहरू सकारात्मक रहेको बताउनुभयो । 

कोरोनाका बाबजुद देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको भन्दै अर्थमन्त्री पौडेलले छिटोभन्दा छिटो भ्याक्सिन आयात गरेर आम नागरिकलाई निःशुल्क उपलब्ध गराउने उल्लेख गर्नु भयो । 

अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप वितरण फ्रन्टलाइनमा खटिएकाहरूबाट शुरु गरेर क्रमशः आम नागरिकमा पुर्याउने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न “कृषि बण्ड” र “किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप” सञ्चालनको पनि शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले डिजिटल फ्रेमवर्क अवधारणा अनुरुप वित्तीय क्षेत्रमा बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैङ्क अघि बढेको बताउनुभयो । 

बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्च मूल्य प्राप्त हुने फलफूल, गाईभैंसी फार्म र उत्पादन एवं उत्पादकत्व बढाउने क्षेत्रमा कर्जा बिस्तार गर्ने बताउनुभयो ।