पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू हुँदै

भुवनप्रसाद आचार्य, काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एक द्वार प्रणाली लागू गरिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेनटाइन केन्द्रमा एक द्वार प्रणाली सुरु गर्ने जानकारी गराएको हो ।

तीन वटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रुपमा विस्तार गरिने र त्यसमा सरकारी र निजी क्षेत्रलाई क्रमिक रुपमा सहभागी गराउने भन्सार विभागले जनाएको छ ।

एक द्वार प्रणाली सुरु भएपछि तीन वटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुने र लाइसेन्स वा अनुमतिका लागि निकासी तथा पैठारीकर्ता सम्बन्धित विभाग तथा कार्यालयमा पुग्नुपर्ने छैन भने कागजी कामको झन्झट पनि सकिनेछ ।

छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक द्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजश्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान दिनु आवश्यक आवश्यक भएको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एक द्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी भई सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताउनुभयो ।

राजश्व सचिव रामशरण पुडासैनीले एक द्वार प्रणालीले राजश्व परिचालनमा थप सहयोग पुर्‍याउने बताउनुभयो । 

भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एक द्वार प्रणाली लागू गरिने जानकारी दिनुभयो । 

अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एक द्वार प्रणाली लागू हुने भन्सार विभागले जनाएको छ ।